मनाङको नारमा जेठमै हिमपात

जेष्ठ ९, २०७६ | लमजुङ

कहिलेकाहीं पुस माघमा समेत हिउँ पर्दैन । यसपटक अचम्मै भयो, बैशाख–जेठमा पनि हिउँ पर्‍यो । अलिअलि मात्रै नभई गाउँबस्ती नै ढाकिने गरी । तराईमा ४० डिग्री सेल्सियस माथि तापक्रम पुगेको छ । हिमाली जिल्ला मनाङको नारमा भने हिमपात भईरहेको छ ।

गर्मीले तराईमा एकसरो लुगा लगाउन समेत मुस्किल परेका बेला मनाङको नारमा भने मुटु कमाउने जाडो बढेको छ । ‘४/५ वर्षअघि बैशाखमा हिउँ परेको थियो । त्यतिखेल अलिअलि परेको थियो । यो त हिउँ पर्ने समय होइन’ नारगाउँका फुर्पा ठेले लामाले भने, ‘पुस माघमा हिउँ पर्दैन बरु । पछिल्लो समय त बैशाख जेठमै हिउँ पर्ने पो भयो ।’ उनले ४/५ वर्षअघि बैशाख–जेठमा हिउँ परेकोबारे थाह नपाएको र जानकारी पनि नभएको बताए ।

नार्पाभूमि गाउँपालिका १ का अध्यक्ष रितार छिपेल लामाले जेठमै हिउँ पर्नु नयाँ कुरा भएको बताउनुभयो । नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङमा छिरिङ लामाले जेठ १ गतेयता प्रायः दिनदिनै हिमपात भइरहेको बताउनुभयो । ‘सुरुमा हावाहुरी चल्छ । त्यसपछि पानी पर्छ । पानी पर्दापर्दै हिमपात हुने गरेको छ’ उहाँले भन्नुभयो, ‘जेठमै ३ इन्चसम्म हिउँ जम्ने गरेको छ ।’

उहाँले मंगलबार र बुधबार समेत गाउँमा केही समय हिमपात भएको बताउनुभयो । ‘माघ फागुनको हिमपातले धेरै नोक्सान पुर्‍यायो । बैशाख जेठमा पनि हिउँ परेको छ । असार नलागेसम्म यस्तै होला जस्तो छ’ उहाँले भन्नुभयो। ‘मौसम परिवर्तन भइरहेको छ । बेमौसमको हिमपातले बिउबालीलाई समस्या पारेको छ ।’ जलवायु परिवर्तनले पुस माघमा पर्ने हिउँ अहिले परेको हुनसक्ने उहाँको भनाई छ । 

नारमा नार गेष्ट हाउस समेत संचालन गर्दै आएका लामाले मौसम परिवर्तन भइरहँदा अहिले हिमपात भएको हुनसक्ने अनुमान गरे । उनका अनुसार पुसमाघको हिमपातले बालीनाली सप्रिने भएपनि बेमौसममा परेको हिमपातले बालीनाली बिगार्छ ।

उनका अनुसार आलु र करु रोपेको २ साता पनि भएको छैन । एकसातापछि तोरी रोप्ने तयारी छ । ‘आलु र करु उम्रिएको छ । ‘पानी परेको भए खेती राम्रो हुने थियो । हिउँ पर्‍यो । साह्रै चिसो छ । चिसोले बाली पहेंलो बनाइदिन्छ । पहेंलो भएपछि मर्ने सम्भावना हुन्छ ।’


प्रतिक्रिया