विधेयकले संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’लाई संकुचित गर्ने सम्पादकहरुको ठहर

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६ | काठमाडौं

- मुलुकका विभिन्न सञ्चार माध्यममा आवद्ध सम्पादकहरुले संसद सचिवालयमा पेश भएको प्रेस सम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् ।

सम्पादक समुहले आज विज्ञप्ति जारी गर्दै विधेयकले संविधानले सुनिश्चित गरेको ‘पूर्ण प्रेस स्वतन्त्रता’लाई संकुचित गर्ने ठहर गरेको छ । २१ जना सम्पादकका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो विषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं ।’

नेपाल पत्रकार महासंघ तथा पत्रकारिता सम्वद्ध अन्य संस्थाले विधेयकको विरोधमा सुरु गरेको आन्दोलनमा सम्पादक समूहको पनि ऐक्यवद्धता रहेको विज्ञप्तीमा उल्लेख छ ।पत्रकारिता क्षेत्रका कतिपय विकृत र असंयमित अभ्यासप्रति आफूहरु सचेत रहेको र त्यस्ता विकृति सम्बोधन गर्ने विधि विकासको आवश्यकताबारे पनि प्रष्ट रहेको विज्ञप्तीमा जनाइएको छ ।

 


प्रतिक्रिया