भाजपा भारी बहुमतसहित पुनः सत्तामा फर्कने संकेत

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ९, २०७६

- भारतको तल्लो सदन लोकसभा निर्वाचन मतगणनाको पछिल्लो परिणामले भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) भारी बहुमतसहित पुनः सत्तामा फर्कने निश्चित देखिएको छ ।

यो समाचार तयार पार्दा सम्मको मतगणनाअनुसार चुनाव भएको ५ सय ४२ लोकसभा सिटमध्ये एनडिएले ३ सय ३३ सिटमा अग्रता कायम राखेको छ भने विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धन (युपिए) ९१ सिटमा मात्र अगाडि छ । ९ स्थानको अन्तिम परिणाम आउँदा सम्म भाजपाले ८ स्थानमा जित हासिल गरेको छ । भने कंग्रेसले १ सिट जितेको छ । 

त्यसैगरी अन्य क्षेत्रीय दलहरुले १ सय ६ सिटमा अग्रता कायम गरेका छन् । लोकसभामा बहुमतका लागि २७२ सिट भए पुग्छ । मतगणनाको ताजा परिणामले नरेन्द्र मोदी अर्को पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने पक्का देखिएको छ ।

पछिल्लो अवस्थालाई हेर्ने हो भने भाजपा र ऊ नेतृत्वको गठबन्धनले उत्तरप्रदेश, बिहार, मध्यप्रदेश, राजस्थान, गुजरातलगायतका राज्यमा ’क्लिन स्वीप’ गर्ने संकेत दिएको छ । यो अग्रता कायम रहे भाजपाले यसपटक पश्चिम बंगाल र पूर्वोत्तर भारतमा दह्रो उपस्थित देखाउने भएको छ । पाँच वर्षअघि पश्चिम बंगालको ४२ मध्ये २ सिटमात्र जितेको भाजपाले यसपटक भने त्यो आँकडा डेढ दर्जन नघाउने देखिएको छ । पार्टीको जित सुनिश्चित देखिएसँगै प्रधानमन्त्री मोदीले ’भारतले फेरि एक पटक जित्यो’ भन्दै ट्विटसमेत गरेका छन् ।

सत्तारुढ दल भाजपा ऐतिहासिक सफलता उन्मुख रहेका बेला विपक्षी कांग्रेसका अध्यक्ष राहुल गान्धी स्वयं उत्तरप्रदेशको अमेठी लोकसभा सिटमा पछाडि चलिरहेका छन् । केरलाको वायनाडा सिटमा भने गान्धी अगाडि छन् ।यसैगरी सलमान खुर्सिद, दिग्विजयसिंह, ज्योतिरआदित्य सिन्धियालगायत चर्चित राजनीतिक अनुहारहरु मतगणनाको प्रारम्भदेखि नै पछि परेका छन् । अन्तिम चरणको मतदान सकिएपछि सार्वजनिक भएका एग्जिट पोलहरुले पनि एनडिएले भारी बहुमत ल्याउने प्रक्षेपण गरेका थिए । यद्यपि विगतमा यस किसिमका एग्जिट पोलहरुको गलत साबित हुँदा विपक्षी दलहरुले ती प्रक्षेपणहरुलाई ठाडै अस्विकार गरेका थिए ।

 


प्रतिक्रिया