विद्यालय भर्ना भएका विद्यार्थीको यकिन तथ्याङ्क छैन सरकारसँग

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

विद्यार्थी भर्ना अभियान सकिएको एक महिना हुन लाग्दा समेत भर्ना भएका विद्यार्थीको संख्या यकिन हुन सकेको छैन । यस पटक स्थानीय तहका गाउँपालिका, नगरपालिकालाई   भर्ना अभियानका लागि जिम्मा दिइएको थियो ।

कर्मचारी समायोजनका कारण कतिपय ठाउँमा तथ्यांक संकलन गर्ने प्रक्रिया पनि सुरु भएको छैन भने कतिपय ठाउँमा कर्मचारीको प्रवृतिका कारण हुनुपर्ने काम समेत हुन सकेको छैन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपनिर्देशक दीपक शर्माले यस पटक तथ्यांक संकलन गर्न केही ढिलाई हुने बताउनुभयो । जेठको अन्त्यसम्ममा विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या सार्वजनिक गर्न सकिने उहाँको भनाई छ ।  

केही स्थानबाट भर्ना भएका विद्यार्थी संख्याको तथ्यांक आइसकेको छ भने कतिपय स्थानबाट संकलन भइरहेको उहाँले दाबी गर्नुभयो । प्रदेश २ का शिक्षा निर्देशक चुढामणी फुँयालले कर्मचारीको प्रवृतिका कारण विद्यार्थी भर्ना अभियानको तथ्यांक संकलनमा प्रभाव परेको बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयले चासो नदेखाएका कारण पनि विद्यार्थी भर्ना अभियानको यकिन तथ्यांक जुट्न नसकेको उहाँको भनाई छ । प्रदेश २ मा मात्र ३ लाख ४५ हजार विद्यार्थी विद्यालय बाहिर छन् । एक लाख ५३ जना विद्यार्थी मात्र विद्यालय जाने गरेका छन् । यस्तै प्रदेश २ मा कुल बजेटको १० प्रतिशत मात्र खर्च भएको छ । 

विद्यालय बाहिर रहेका बालबालिकालाई औपचारिक शिक्षा दिलाउने उद्देश्यले २०६१ सालदेखि नै भर्ना अभियान जारी छ । सरकारले यसै वर्षदेखि हरेक वर्षको बैशाख २ गतेलाई विद्यार्थी भर्ना दिवसका रुपमा मनाउने निर्णय गरेको छ । 


प्रतिक्रिया