१५० भन्दा बढी शैक्षिक संस्था एउटै छानामुनी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

‘उत्कृष्ट शिक्षा नेपालमै’ नाराका साथ काठमाडौंमा जारी छैठौं कान्तिपुर–हिसान शैक्षिक मेलाको दोस्रो दिन आज पनि बिहानैबाट अवलोकनकर्ताको भिड लागेको छ । हिजो एकै दिन ३५ हजार बढीले मेलाको अवलोकन गरेका थिए ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्सको संयुक्त आयोजना काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा सुरु मेला आइतबारसम्म चल्नेछ ।

माध्यमिक विद्यालयदेखि विश्वविद्यालयस्तरको शिक्षा हासिल गर्ने विद्यार्थीलाई लक्षित गरेर हरेक वर्ष मेला आयोजना भएको बताउदै हिसानका महासचिव लोकबहादुर भण्डारीले एउटै छानामुनी १ सय ५० वटा स्कुल–कलेजबारे जानकारी लिन सकिने बताउनुभयो ।

मेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सम्बन्धनमा सञ्चालित १ सय ५० भन्दा बढी शैक्षिक संस्थाको सहभागिता छ ।

प्रदर्शनीस्थलको भित्र र बाहिर गरेर १ सय ५० स्टल रहने आयोजकले जनाएको छ । प्रवेश निःशुल्क गरिएको मेलामा विभिन्न कलेजहरूले निःशुल्क छात्रवृत्ति समेत दिनेछन् ।  


प्रतिक्रिया