विभिन्न मुलुकका ५० जना बालबालिकाको उद्धार

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | बीबीसी

बालयौन दुर्व्यवहार विरुद्धको अन्तर्राष्ट्रिय खोज अनुसन्धानका क्रममा विभिन्न मुलुकका ५० जना बालबालिकाको उद्धार गरिएको छ । सो क्रममा ९ जना पक्राउ परेका छन् । इन्टरपोलले गरेको अनुसन्धानका क्रममा थाईल्याण्ड, अष्ट्रेलिया र अमेरिका लगायत देशबाट बालबालिकाको उद्धार गरिएको हो ।

थप १ सय बालबालिकाहरु हिंसा तथा दुर्व्यवहारको शिकार भएको र उनीहरुको पहिचानको काम भईरहेको ईन्टरपोलको दाबी छ । ईन्टरपोलले विश्वभर सञ्चालित इन्टरनेटका ६३ हजार डार्क वेभ साईटहरुमा सन् २०१७ बाट अनुसन्धान थालेको थियो ।

इन्टरनेटका मुख्य सर्च इन्जिनमा नदेखिने गरि सञ्चालन गरिने डार्क वेभ साईटमा १३ बर्षमूनीका ११ जना बालकहरुलाई दुर्व्यवहार गरेको भिडियो देखिएपछि यसको सञ्जाल पत्ता लगाउन इन्टरपोलले विश्वव्यापी खोजी अभियान तिव्र पारेको बीबीसीले उल्लेख गरेको छ ।

दुर्व्यवहार पिडितमध्ये सबैभन्दा कम उमेरका १५ महिने बालबालिका समेत रहेको पाईएको छ । अमेरिकी गृह मन्त्रालयको अनुसन्धान विभागले विभिन्न फोटो तथा भिडियो समावेश यस्ता वेभसाईटका आईपी एड्रेसहरु पत्ता लगाएको थियो ।

यस्ता वेभसाईट सञ्चालकहरुले अनुसन्धानकर्ताहरुले चिन्न नसक्ने गरि मास्क लगाएका बालबालिकाको नयाँ फोटोहरु हरेक साता अपलोड गर्ने गरेको पनि पत्ता लागेको छ । इन्टरपोलले यस्ता साईटहरुको खोजी तिव्र पारेको जनाएको छ । बालयौनदुर्व्यवहारमा संलग्नहरुलाई विभिन्न मुलुकले ३७ बर्षदेखि १ सय ७६ बर्षसम्मको जेल सजाय सुनाईसकेका छन् ।


प्रतिक्रिया