सगरमाथाको वास्तविक उचाई ६ महिना भित्र सार्वजनिक गरिने

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १०, २०७६ | काठमाडौं

- सगरमाथाको वास्तविक उचाई अबको ६ महिना भित्र सार्वजनिक गर्ने सरकारको तयारी छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी आर्यालले सगरमाथाको उचाई मापनका लागि चुचुरो पुगेर फर्किएका टोलीलाई स्वागत गर्दै ऐतिहासिक सफलता हासिल भएको बताउनुभयो । २०७२ सालको भूकम्पले सगरमाथाको उचाई घटबढ भएको सवाल सिर्जना भएको विषयलाई ध्यानमा राखेर नापी विभागले आफ्नै श्रोत साधनमा उचाई मापन कार्य अघि बढाएको हो ।

नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतम संयोजकत्वको चार जनाको टोलीले यही जेठ ८ गते सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको थियो । टोलीमा संयोगक गौतमसँगै नापी अधिकृत रविन कार्की, विभागका नापी अमिन सर्वेक्षक युवराज धिताल, सर्वेक्षक सुरज सिंहको टोलीले बैशाख २८ गतेबाट सगरमाथा आरोहण यात्रा सुरु गरेका थिए । सो टोली करीब २ घण्टा सम्म चुचुरोमै बसेका थिए ।

सो टोलीले १ घण्टा २० मिनेट सम्म जी.एन.एस.एस र जी.पी.एस जडान गरेर सर्वेक्षण सुरु गरेको थियो । सगरमाथाको वास्तविक तथ्याङक संकलन भईसकेको र अन्य स्थलगत सर्वेक्षणबाट तथ्याङ्क प्राप्त हुने क्रम जारी रहेकाले सम्पूर्ण तथ्याङ्क प्राप्त भएपछि यसको वास्तविक उचाई सार्वजनिक गर्ने विभागको तयारी छ । 

 


प्रतिक्रिया