कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित

जेष्ठ ११, २०७६ | बुटवल

स्थानीय तहको काम र कार्यक्षेत्र थपिंदै गएको छ । तर कार्यक्षेत्र अनुसारका कर्मचारी छैनन् । रुपन्देहीमा १६ स्थानीय तह मध्ये अधिकांशमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा कामकाज प्रभावित हुँदै आएको हो । रोहिणी गाउँपालिकामा ३३ जना कर्मचारीको दरबन्दी छ । तर, दरबन्दीमा भएका ७ जना कर्मचारी मात्रै कार्यालयमा छन् । २६ जना कर्मचारी अझैं आएका छैनन् ।

गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले कर्मचारी नहुँदा लक्ष्य अनुसार काम हुन नसकेको बताउनुभयो । २९ जनाको दरबन्दी रहेको सम्मरीमाई गाउँपालिकामा १० जना मात्रै स्थायी कर्मचारी छन् । कर्मचारी नहुँदा दैनिक प्रशाशन सम्हाल्न समेत समस्या छ ।

लक्ष्य अनुसार बजेट खर्च भएको छैन । गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्लले आर्थिक मामिला र दैनिक प्रशाशन सम्हाल्ने काम गर्ने कर्मचारी नभएपछि जनप्रतिनिधिले मात्रै काम गरेर नहुँने बताउनुभयो । 

कर्मचारी नहुँदा स्थानीयले छिटो र सरल सेवा पाएका छैनन् । कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत गणेश घिमिरेले थोरै कर्मचारीले धेरै सेवा दिँदा सेवामा गुणस्तर पनि हुन नसकेको बताउनुभयो ।

संघीय सरकारले दरबन्दी तोकेको ठाउँमा कर्मचारीलाई जान पटक पटक निर्देशन दिंदै आएको छ । तर, पहुँचको आधारमा कर्मचारी विकट मानिएका स्थानीय तहमा गएका छैनन् । कतिपय कर्मचारी स्थानीय तहमा नआउँदै सरुवा गरिएका छन् । यसले स्थानीय तहमा थप समस्या भएको छ ।

ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवटले कर्मचारी आफैलाई स्थान रोज्न दिने र त्यसअनुसार खटाउँदा पनि स्थानीय तह कर्मचारी अभावमा रहेको बताउनुभयो । 


प्रतिक्रिया