पार्टीको लज्जास्पद हारपछि राहुलमाथि राजीनामाको दबाब 

जेष्ठ ११, २०७६ | नयाँदिल्ली

लोकसभा निर्वाचनमा लज्जास्पद हार व्यहोरेपछि भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि नेतृत्व छाड्न चौतर्फी दबाब परेको छ । स्रोतका अनुसार शनिबार बिहान दिल्लीको अकबर रोडस्थित पार्टी मुख्यालयमा बस्ने केन्द्रीय कार्यकारिणी समिति (सीडब्लुसी) बैठकले चुनावमा पार्टीको हारको समीक्षासँगै राहुलको नेतृत्व सम्बन्धमा पनि निर्णय लिन सक्ने बताइएको छ ।

पार्टी स्रोतका अनुसार गान्धी आफू भने राजिनामा दिने मनस्थितिमा रहेको र त्यसको जानकारी आज बस्ने सीडब्लुसीलाई गराउने बताइएको छ । सीडब्लुसीको पार्टीको सर्वोच्च निकाय हो । गान्धीले दुई वर्षअघि पार्टीको नेतृत्व लिएका थिए ।  

जबकी, पार्टी पंक्तिमा अघिल्लो लोकसभा चुनावमा ४४ सिटमा खुम्चिएको कांग्रेसले यसपटक राहुलको नेतृत्वमा राम्रो गर्ने अपेक्षा थियो । तर, त्यस विपरीत पार्टीले देशभरि नै नराम्रो हार व्यहोरेको छ । केरल र पन्जाबलाई छाड्ने हो भने बाँकी सबै राज्यहरुमा कांग्रेस भारतीय जनता पार्टी (भाजपा) र ऊ नेतृत्वको राष्ट्रिय लोकतानित्रक गठबन्धन (एनडीए) का सामु निरिह साबित भएको छ ।

बिहीबार भएको १७ औं लोकसभा चुनावको मतगणनामा भाजपा एक्लैले ३०३ सिट जितेको छ । र, ऊ नेतृत्वको एनडीएले ३५२ सिट जित्न सफल भएको छ । जबकी बहुमतका लागि २ सय ७२ सिट भए मात्र पुग्छ । पाँच वर्ष अघि संसदमा प्रमुख प्रतिपक्षको हैसियत गुमाएको कांग्रेसले यसपटक पनि त्यही नियति भोगेको छ । ५४३ सदस्यी लोकसभामा प्रमुख प्रतिपक्षको हैसियत हासिल गर्न कम्तीमा पनि ५५ सिट ल्याउनु पर्छ । यो चुनावमा पार्टीको अवस्था खासै सुधार देखिएन । यो चुनावमा पार्टीले ५२ सिट मात्र जित्न सफल भयो । 

चुनावमा अध्यक्ष राहुल आफै परम्परागत सिट अमेठीबाट पराजित भएका छन् । उनलाई भाजपाकी स्मृति इरानीले पराजित गरिन् । पाँच वर्षको चुनावमा राहुलले १ लाख भन्दा बढी भोटको अन्तरलाई इरानीलाई पराजित गरेका थिएन । राहुल केरलाको वायनाड लोकसभा सिटबाट भने विजयी भएका छन् । राहुलसँगै पार्टीका दर्जनौं हस्तीहरु पराजित भएका छन् । चुनावमा १८ वटा प्रदेश र केन्द्रशासित राज्यमा त खाता समेत खोल्न सफल भएन । 

केही महिनाअघि सम्पन्न विधान सभामा सत्तारुढ भाजपालाई विस्थापित गर्न सफल भएका राज्यहरुमा समेत पार्टी नराम्ररी बढारिएको छ । राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा विधान सभा चुनावमा कांग्रेसले जित हासिल गरेको थियो । तीनवटै राज्यमा पार्टीकै नेतृत्वमा सरकार छ । तर, लोकसभा चुनावमा ती राज्यमा समेत नमिठो हार खेपेको छ । कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिका विभिन्न राज्यका नौजना पूर्व मुख्यमन्त्रीहरुले हारेका छन् ।  

पार्टीमा परिवारवादको प्रभाव, कमजोर संगठन र केन्द्रमा तय भएका चुनावी मुद्दालाई मतदातासम्म पुर्‍याउन नसकेका कारण पार्टीको लज्जास्पद हारको प्रमुख कारण ठानिएको छ । यस किसिको हार पछि पार्टीभित्र मात्र होइन, सञ्चारमाध्यमहरु र सामाजिक संजालमा समेत नेतृत्वसँगै संगठन परिचालनको विधिमै कठोर समीक्षा गर्नुपर्ने माग शुरु भएको छ ।

चुनावमा नराम्रो हारपछि पार्टी नेतृत्वका लागि पन्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहको नाम समेत चर्चामा छ । देशव्यापी मोदी र भाजपा लहरका बाबजुद पन्जाबको १३ सिटमध्ये ८ वटा जित दिलाएको भन्दै सिंहले चौतर्फी वाहवाही कमाएका छन् । 


प्रतिक्रिया