पोलिटब्युरो गठनमा नेकपालाई सकस

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ११, २०७६ | काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपालाई पोलिटब्युरो गठन गर्न निक्कै सकस परेको छ । यसअघि नै पोलिटब्युरो गठनको तयारी भएपनि अन्तिम समयमा बैठक नै स्थगित भएपछि सहमति जुट्न नसक्दा गठन प्रक्रिया लम्बिदै गएको हो । तत्कालीन माओवादीका तर्फबाट पोलिटब्युरो सदस्यको संख्या यकिन हुन नसक्दा पोलिटब्युरो गठनमा समस्या देखिएको नेताहरुले बताएका छन् ।

आकांक्षीको ब्यबस्थापनसँगै जिम्मेवारीका विषयमा पनि समस्या देखिएपछि शीर्ष नेताले प्रयास तीब्र बनाएका छन् । सचिवालय सदस्य झलनाथ खनालले भन्नुभयो, ‘पोलिटब्युरो गठनका लागि केही समस्या देखिएका छन्, त्यसलाई टुंगोमा पुर्‍याउन शीर्ष नेताहरुको प्रयास जारी छ ।’ 

खनालका अनुसार १८ गते बस्ने सचिवालय बैठकअघि सम्पूर्ण विषयमा सहमतिको प्रयास हुनेछ । मुख्यगरी पोलिटब्युरोमा रहने सदस्यहरुको भागबण्डा मिलाई जिम्मेबारी बाँडफाँटमा केही गृहकार्य आवश्यक रहेकाले बैठक स्थगित गरी सहमतिको प्रयास तीब्र पारिएको नेकपा श्रोतको भनाई छ । 

संगठन विभागको प्रमुखमा रामबहादुर थापालाई ल्याउने चर्चासँगै नेकपा भित्रको असन्तुष्टि थप बढेको हो । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको ईच्छाविरुद्ध सचिवालय सदस्यहरु नै विभाजित भएपछि जिम्मेवारी बाँडफाँटमा पनि सकस परेको हो ।

१ सय ४७ सदस्यीय पोलिटब्युरोका लागि तत्कालीन माओवादीको भागमा ६६ जना परेको छ । त्यसको सूची बुझाउन भएको ढिलाईले सम्पूर्ण प्रक्रिया रोकिएको नेताहरुको भनाई छ । तत्कालीन एमालेतर्फ भने सूची निर्माणमा कुनै समस्या नरहेको नेता खनालले बताउनुभयो । 

 


प्रतिक्रिया