उपत्यका बाहिरका अधिकांश जिल्लामा बन्दको प्रभाव

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

प्रतिबन्धित नेत्र विक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाण्डौं उपत्यका बाहिरका अधिकांश जिल्लामा परेको छ । काठमाडौं उपत्यकामा भने बन्द प्रभाव सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएपछि सार्वजनिक यातायातका सवारीसाधन सञ्चालनमा छन् ।

भोजपुरमा आफ्रना कार्यकर्ता मारिएपछि चन्द समूहले आज बन्द आह्वान गरेको हो । बजार पसल तथा शिक्षण संस्था खुलेका छैनन भने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आउन नसकेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । प्रमुख राजमार्गहरुमा गाडी चलेका छैनन् भने सहायक मार्गहरुमा समेत बन्दको प्रभाव देखिएको छ । 

काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा बम भेटिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाण्डौंको सुकेधारा, घट्टेकुलो र थानकोटमा हिजो साँझ भएका छुट्टाछुट्टै बम विष्फोटमा  ४ जनाको मृत्यु भएको थियो । घाइते ७ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिनुभयो । 


प्रतिक्रिया