बाँच्न पाउने व्यक्तिको अधिकारको संरक्षण गर : आयोग

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १३, २०७६ | काठमाडौं

- राष्ट्रिय मानव अधिकार आयोगले भयरहित वातावरणमा बाँच्न पाउने व्यक्तिको अधिकारको संरक्षण गर्न सरकारलाई आग्रह गरेको छ ।

काठमाडौं लगायत मुलुकका विभिन्न स्थानमा हिजो र आज भएका बम बिस्फोट, आगजनी तथा तोडफोडका घटनाबाट भएको जनधनको क्षतिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले स्वतन्त्र र निर्भयपूर्वक आवतजावत गर्नसक्ने वातावरण निर्माण गर्न सरोकारवालाको ध्यानाकर्षण गराएको हो ।

आयोगले आज विज्ञप्ति जारी गरी मुलुकका विभिन्न ठाउमा भेटिएका विष्फोटक पदार्थका कारण नागरिकमा भय र त्रासको वातावरण सिर्जना भई स्वतन्त्र र निर्भयपूर्वक आवतजावत गर्न कठिनाई सिर्जना भएको उल्लेख गरेको छ ।

साथै विप्लव समुहले गरेको बन्दले जनजीवन कष्टप्रद बनेको भन्दै आयोगले यसबाट मानवअधिकारको विश्वव्यापी घोषणा पत्र, नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, अन्तर्राष्ट्रिय महासन्धि तथा नेपालको संविधानमा उल्लिखित सम्मानपूर्वक बाँच्न पाउने व्यक्तिको अधिकारको उल्लंघन भएको ठहर गरेको छ । 

कुनै पनि विमति, द्वन्द्व वा संघर्षको स्थितिलाई वार्ता र संवादबाटै निराकरण गर्न सकिने भन्दै आयोगले बन्द, निषेध र हिंसालाई पूर्णतः वर्जित गरी शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने व्यक्तिको नैसर्गिक अधिकारको सम्मान र संरक्षण गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

साथै, बम बिस्फोटमा परी ज्यान गुमाउन पुगेका व्यक्तिको परिवारलाई उचित राहत प्रदान गर्न, घाइतेको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न तथा क्षतिग्रस्त सम्पत्तिको मूल्यांकन गरी उचित राहत तथा क्षतिपूर्ति प्रदान गर्न समेत आयोगले सरकारलाई आग्रह  गरेको छ । 

 


प्रतिक्रिया