मौलिक जातको चिया बिरुवा उत्पादन र विस्तार गरिँदै

जेष्ठ १४, २०७६ | विराटनगर

डेढ शताब्दी भन्दा पुरानो इतिहास बोकेको चिया खेतीको विकासका लागि नेपाली जातको मौलिक चियाका बिरुवा उत्पादन गरिएको छ । हाल नेपालमा चीन, भारत लगायत मुलुकबाट ल्याइएका चियाका बिरुवाबाटै खेती विस्तार भएको छ । अब भने आफ्नै जातको चिया विस्तार गरिने भएको हो ।

इलामका केही स्थानमा मौलिक जातका चिया रोपिएका छन् । थप विस्तारका लागि चिया तथा कफी विकास बोर्डले अध्ययन सुरु गरेको जनाएको छ । विज्ञहरुको सहभागितामा यसको अध्ययन भइरहेको जनाइएको छ ।

उत्पादित मौलिक जातको बिरुवा किसानलाई वितरण गरिने भएको छ । विक्रम सम्वत् १९२० मा पूर्वको इलामबाट सुरु भएको चिया खेती झापा, पाँचथर, ताप्लेजुङ, धनकुटा लगायत जिल्लामा विस्तार भएको छ ।

यी जिल्लामा वार्षिक रुपमा ५५ लाख किलो भन्दा बढी तयारी चिया उत्पादन हुने गरेको छ । नेपाली चिया मुख्य गरी भारत र त्यसपछि जर्मनी, जापान, अमेरिका लगायत मुलुकमा निर्यात हुने गरेको छ ।


प्रतिक्रिया