प्रदेश ५ मा २५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्था बाहिर  

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १४, २०७६ | बुटवल

प्रदेश ५ मा करीब २५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्था बाहिर रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ । अधिकांश गर्भवतीले घरमै जोखिमपूर्ण रुपमा बच्चा जन्माउने गरेका कारण अपेक्षित रुपमा मातृ तथा शिशु मृत्युदर घटाउन नसकिएको प्रतिवेदनले देखाएको छ ।

घरमा प्रसूति हुँदा हुने जोखिमको बेवास्ता गर्दा पनि घरमै यस्तो समस्या सिर्जना भएको पाइएको छ । स्वास्थ्य संस्थासम्म आउजाउ गर्ने रकम र पारिवारिक समस्याले पनि अधिकांशले घरमै प्रसूति गराउने गरेको प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

प्रदेश ५ मा गत वर्ष १ लाख ११ हजार ६ सय ९३ जना प्रसूति भएका थिए । स्वास्थ्य संस्था बाहिर प्रसूति हुने समस्या सबैभन्दा धेरै अर्घाखाँचीमा छ । त्यहाँका ७७ प्रतिशत गर्भवतीले घरमै प्रसूति गराएका थिए । पाल्पामा भने स्वास्थ्य संस्था जाने महिलाको संख्या उच्च छ । त्यहाँका ९० दशमलव ८ प्रतिशत गर्भवतीले स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । 

पश्चिम नवलपरासीका २८ र रुकुम पूर्वमा २९ दशमलव ७ प्रतिशत गर्भवती मात्र स्वास्थ्य संस्था पुग्ने गरेको प्रदेश ५ सरकारको तथ्याङ्क छ । यस्तै, गुल्मीमा ३७, कपिलवस्तुमा ३७ दशमलव ७, बर्दियामा ४८ दशमलव ४, रोल्पामा ५३ दशमलव ७, प्युठानमा ६१ दशमलव ६ र दाङमा ६९ दशमलव ४ प्रतिशत गर्भवती स्वास्थ्य संस्थामा प्रसूति भएका छन् । बाँके र रुपन्देहीमा भने संस्थागत सुत्केरीको अवस्था अपेक्षा गरेभन्दा धेरै छ ।

सबै महिलाको पहुँचमा सुरक्षित सुत्केरी सेवा पुर्‍याउन सुरक्षित सुत्केरी केन्द्रलाई विस्तार गर्दै जाने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । 


प्रतिक्रिया