घरबासबिहीनका लागि नमुना वस्ती 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ १७, २०७६ | बुटवल

आर्थिक विपन्न, घरबास बिहीन तथा विकासका कामबाट विस्थापितका लागि भन्दै रुपन्देहीको सैनामैना नगरपालिकाले नमुना वस्ती निर्माण थालेको छ । तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत नगरको वडा नम्बर ११ मा नमुना वस्ती निर्माण थालिएको हो ।

नगर प्रमुख चित्र बहादुर कार्कीले नगरको विकासको कामबाट विस्थापित भएका र घरबारबिहीन भएका अति विपन्न बासिन्दालार्ई लक्षित गरी नमुना वस्ती बनाउन निर्माण सुरु गरिएको बताउनुभयो । नमुना वस्ती विस्तार पछि नगरपालिकामा कुनै पनि परिवार घरबिहीन नहुने उहाँको भनाइ छ ।

विकासका क्रममा एक ठाउँबाट विस्थापित हुनेलाई अर्को ठाउँमा जाने भएकाले विकासमा हुने विवाद समेत घट्ने उहाँले बताउनुभयो । नमुना वस्तीमा ५० वटा घर बन्नेछन् । यस आर्थिक वर्षभित्र भने  ५ वटा घर र कम्पाउण्ड वालको काम सम्पन्न हुने छ ।  

घर बन्नासाथ त्यहां व्यक्तिलाई स्थानान्तरण गरिने छ । नमुना वस्ती बनाउन चालू आर्थिक वर्षमा १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सैनामैना नगरपालिकाले निर्माया गरिरहेको नमुना वस्तीमा सामुदायिक भवन, सहकारी पसल, खेल मैदान, पार्किङ, सार्वजनिक शौचालय, पार्क लगायतका संरचना हुनेछन् । आर्किटेक इन्जियनर मिलन भुर्तेलले नेपालकै नमुना वस्तीका रुपमा घरहरु डिजाइन गरेको बताउनुभयो । नगरपालिकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा समेत विकास गर्ने योजना बनाएको छ । 


प्रतिक्रिया