पूर्व–पश्चिम राजमार्गमा लुटेराको बिगबिगी

जेष्ठ १७, २०७६ | बारा

- पूर्व–पश्चिम राजमार्गमा लुटेराहरु सल्बलाउन थालेका छन् । सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोष्ट ‘पिकेट’ राजमार्गबाट हटाईएपछि लुटेराहरु पुनः सल्बलाउन थालेका हुन् । केही बर्षअघि मकवानपुरको चुरियामाईदेखि रौतहटको धन्सर खोला छेउसम्मको राजमार्गमा अपहरण, लुटपाट र हत्याका घटना हुने गरेका थिए । राजमार्गमा सुरक्षा चुनौती बढेपछि सुरक्षा निगरानीमा कडाइ गरिँदा अपराधिक क्रियाकलाप घटेको थियो ।

तर अहिले फेरि बढ्न थालेको छ । आज विहान मात्रै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बराको निजगढ र पथलैयाबीचको १३ किलोमिटरमा एक यात्रुबाहक बसमा लुटपाट भएको छ । काठमाडौंबाट महोत्तरीको जलेश्वर तर्फ जाँदै गरेको ना ७ ख २७९० को रात्री बसमा लुटेराको समुहले लुटपाट गरेका हुन् । जीप र मोटरसाइकलमा आएका ६/७ जनाको समूहले चालकलाई कुटपिट गरी सहचालकसँग भएको ४५ हजार नगद रुपैयाँ लुटेका इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक विक्रम लामाले बताउनुभयो ।

लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ । फरार लुटेराको खोजी भईरहेको प्रहरी निरीक्षक लामाले बताउनुभयो । 


प्रतिक्रिया