जुटका वस्तु निकासीमा वृद्धि

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २२, २०७६ | विराटनगर

सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगबाट उत्पादित जुटका तयारी वस्तुको निर्यात बढेको छ । यस वर्षको जेठ दोस्रो सातासम्ममा ६ अर्ब रुपैयाँ भन्दा बढीका जुटका तयारी वस्तु निकासी भएका छन् । गत वर्ष यही अवधिमा करीब चार अर्ब रुपैयाँ बराबरका जुटका वस्तु निकासी भएको जुट उद्योग संघले जनाएको छ ।

सरकारले सहुलियत दिने हो भने निकासी परिमाण अझ बढ्ने उद्योगीहरुले बताएका छन् । जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाका अनुसार सरकारले घोषणा गरेको सहुलियत नपाउँदा उद्योगहरु समस्यामा छन् ।

संघका अनुसार केही समय अघिसम्म ११ वटा जुट उद्योग रहेकामा हाल ६ वटामात्र सञ्चालनमा छन् । सरकारको असहयोग र भारतीय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा आधा उद्योग बन्द भएको संघको भनाइ छ । कोरिडोरका जुट उद्योगहरुले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी उद्योग सञ्चालन गरिरहेका छन् ।


प्रतिक्रिया