धनकुटाको ओक्मालुङको जंगलमा सात तले गुफा  

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २६, २०७६ | धनकुटा

धनकुटामा सात तले गुफा फेला परेको हुन्छ । धनकुटा नगरपालिका १ ओक्मालुङको जंगलमा झन्डै एक सय मिटर उचाईको ढुंगाभित्र सात तले गुफा फेला परेको हो । विगतमा घाँस दाउरा गर्न त्यस क्षेत्रमा जाने स्थानीयले ढुंगाको भित्रि भागबाट गुफा रहेको अनुमान गर्दै आएका थिए ।

स्थानीय केही युवाले विभिन्न तला रहेको आकर्षक गुफा पत्ता लगाएको स्थानीय अर्जुन छाराहाङले बताए । लुङ्धाङ सामुदायिक वन भित्र रहेको सो गुफा करीब एक सय मिटर लामो रहेको छ । गुफा प्रवेश गर्ने साँगुरो ठाउँ पार गरेर भित्र पुग्दा फराकिलो भाग देख्न सकिन्छ ।

पहिलो तलामा पुग्दा त्यसस्थान भन्दा तल र माथि दुई तला नियाल्न सकिन्छ । हाल चार तलासम्म मात्र पुग्न सकिन्छ । अघिल्लो वर्षदेखि गुफाको अवस्थाबारे चासो राख्दै आएका स्थानीयले लुङ्धाङ गुफा पर्यटन विकास समिति नामको संस्था गठन गरेर अनुसन्धान र पुर्वाधारको काम थालनी गरेको समितिका अध्यक्ष शुक्रबहादुर राइले बताउनुभयो । उत्तरतर्फ रहेको प्रवेशद्वारबाट करीब १६ मिनेटमा दक्षिणी द्वारबाट बाहिरिन सकिन्छ । 

यस्तै, गुफा रहेको स्थलबाट करीब पाँच सय मिटरको दूरीमा ५० मिटर अग्लो झरना समेत रहेको छ । झरना र गुफाका कारण आफ्नो क्षेत्रमा पर्यटकको आकर्षण हुन सक्ने भन्दै स्थानीयले होमस्टेको तयारी गरेको स्थानीय उत्सव राईले बताए । झरना र गुफा संरक्षणको लागि प्रदेश एक सरकारबाट १० लाख रुपैयाँ विनियोजन भएको संरक्षण समिति सचिव ईन्द्र थापाले जानकारी दिनुभयो । 


प्रतिक्रिया