७ बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै सकियो दक्षिण एसियाली सम्मेलन

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | काठमाडौं

विपद् व्यवस्थापन, पुनर्निर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन ७ बुँदे काठमाडौं कार्ययोजना पारित गर्दै सकिएको छ । सम्मेलनले दक्षिण एसियामा विपद पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दिगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहलाई सहकार्य गर्न आग्रह गरेको छ ।

कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्प पछिको पुनर्निर्माण र पुनः स्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकार तथा संघसंस्थाहरुलाई राष्ट्रिय कार्यढाँचा अनुकूल आफ्नै विपद् जोखिम न्यूनिकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ । 

सफा र नवीकरणीय ऊर्जाका प्रावधानहरु सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरु न्यूनिकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न राष्ट्रिय सरकारलाई सम्मेलनले आग्रह समेत गरेको छ ।

सम्मेलनले विश्वका मुद्दाहरुलाई स्थानीय तहमा लागू गर्नका लागि स्थानीय सरकारहरुको संस्थागत, संगठनात्मक, वित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आहृवान पनि गरेको छ । 

त्यस्तै, स्थानीय सरकारका नीति निर्माण, योजना तथा निर्णय प्रक्रियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न, निर्णय फ्रक्रियामा महिला तथा जोखिमयुत्त वर्गहरुको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा स्रोतहरु उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिएको छ । 

सम्मेलनले दिगो विकास लक्ष्य, शहरी मुद्दा एवं विपद् जोखिम न्यूनिकरण सेण्डाई फ्रेम वर्कको प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकारलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । सम्मेलनमा नेपाल सहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधि एवं विज्ञहरुको सहभागिता थियो । 


प्रतिक्रिया