मेक्सिकोसँग भएको सम्झौताका सार्वजनिक 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २९, २०७६ | बीबीसी

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीको प्रवेश नियन्त्रण सम्बधमा मेक्सिकोसँग भएको सम्झौताका केही बुँदा सार्वजनिक गर्नुभएको छ । सम्झौतामा आप्रवासीका लागि क्षेत्रीय शरणार्थी शिविरको योजना रहेको बताईएको छ जुन यसअघि मेक्सिकाका विदेशमन्त्रीले वार्तापछि उल्लेख गरिसक्नुभएको छ ।

अमेरिका प्रवेश गर्न चाहने विभिन्न ल्याटिन अमेरिकी मुलुकका नागरिकलाई यी शिविरहरुमा राखिने बताईएको छ । साथै मेक्सिकोले ४५ दिन भित्र मुलुकको कडा सीमा सुरक्षा सम्बन्धी कानून लागू गर्ने प्रतिबद्धता पनि गरेको बीबीसीले उल्लेख गरेको छ । हाल मेक्सिकोले ग्वाटेमालासँगको सीमा क्षेत्रमा ६ हजार सुरक्षाकर्मी तैनाथ गरिरहेको छ ।

मेक्सिकोसँगको सम्झौतामा उल्लेख सम्पूर्ण जानकारी भने दिन नचाहेको राष्ट्रपति ट्रम्पको भनाई छ । मेक्सिकोले सही समयमा आफैले सो सम्झौता बारे खुलासा गरोस् भन्ने चाहेको राष्ट्रपति ट्रम्पले बताउनुभयो । यदि मेक्सिकोले ४५ दिनभित्र अवैध आप्रवासीको अमेरिका प्रवेशमा रोक नलगाए अन्य मुलुकलाई समेत असर पुग्ने देखिएको छ ।

अवैध आप्रवासीको ट्रान्जिट बनिरहेका ब्राजिल, ग्वाटेमाला, पनामा लगायत मुलुकहरुसँग पनि यस सम्बन्धमा छलफल हुनसक्ने बीबीसीले उल्लेख गरेको छ । अवैध आप्रवासी रोक्न अमेरिकाले मेक्सिकोको पूर्ण प्रतिबद्धता चाहे पनि त्यो सम्भव नभएको विश्लेषकहरुको भनाई छ ।


प्रतिक्रिया