उपाधिका लागि नुवाकोट ११ र संकटा भिड्ने

जेष्ठ ३०, २०७६ | नुवाकोट

नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि संकटा क्लब र आयोजक नुवाकोट ११ बीच प्रतिस्पर्धा हुने भएको छ । नुवाकोटमा जारी प्रतियोगतामा बुधबार भएको खेलमा ८–७ को गोल अन्तरले च्यासल क्लबलाई पराजित गर्दै संकटाले फाइनल यात्रा तय गरेका हुन् ।

संकटा र च्यास युथ क्लबबीच हिजो भएको खेलमा बराबरी भएपछि निर्णय टाईब्रेकरबाट लिइएको थियो । खेल सुरु भएको १३ औं मिनेटमा मिलन राईको गोल मार्फत च्यासलले अग्रता बनाएको थियो । पहिलो हाफको २४ औं मिनेटमा संकटाका कोनेगोरिस्ले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

त्यसपछि संकटा र च्यासल बीच भएको खेल अवधिभर गोल हुन नसकेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरको अन्तिममा संकटाले च्यासललाई हराएको हो । मिलन राईको प्रहारलाई राजुबाबु थापाले रोकपछि संकटाले फाइनल यात्रा तय गरेको हो । 

नुवाकोटको आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा भएको खेलमा संकटका राजुबाबु थापा म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् । 


प्रतिक्रिया