विश्वकप क्रिकेट वर्षाका कारण प्रभावित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३०, २०७६ | काठमाडौं

- विश्वकप क्रिकेटमा अपराजित दुई टोली न्युजिल्याण्ड र इण्डिया बीचको खेल वर्षाले प्रभावित भएको छ । नटिङ्घममा दिउँसो सवा ३ बजेका लागि तय भएको खेलमा अझै टस समेत हुन सकेको छैन । जारी विश्वकपमा यसअघिका ३ खेल पनि वर्षाले रद्द भइसकेको छ । श्रीलंका र पाकिस्तान, बंगलादेश र श्रीलंका तथा वेष्ट इण्डिज र साउथ अफ्रिकाबीचको खेल बर्षाका कारण रद्द भएको थियो ।

जारी विश्वकपमा सबैभन्दा अभागी टोली श्रीलंका हो । उसको २ वटा खेल वर्षाले बिथोलिदिएको छ । 

जारी विश्वकपमा ३ खेलसम्म जित निकाल्ने एकमात्र टोली हो न्यूजिल्याण्ड । त्यसो त इण्डियाले पनि खेलेका दुबै खेलमा नतिजा आफ्नो पोल्टोमा पारेको छ । तर, अघिल्लो संस्करणको उपविजेता न्यूजिल्याण्ड विश्वकपमा अभागी टोलीको रुपमा भएको आफ्नो चित्रणलाई मेटाउन संघर्षरत हुनेछ । किनकी हाइस्कोरिङ विश्वकपको रुपमा उदाएको जारी प्रतियोगितामा इण्डियन ब्याट्सम्यानहरु पूर्ण फर्मममा छन् ।

विश्वकप ट्रफी दुई पटक उचालिसकेको इण्डिया तेस्रो जितको खोजिमा मैदान उत्रँदा, न्यूजिल्याण्ड मेडन विश्वकपको खोजीमा हुनेछ । इण्डियाका विराट कोहली र न्यूजिल्याण्डका केन विलियमसनको कमानीमा पनि समानता छ । उनीहरु दुबै हार्ड हिटरका रुपमा कहलिएका छन् ।

ओपनर शिखर धवन चोटका कारण ३ साता मैदान बाहिर रहने भएपछि पिरोलिएको इण्डियाले किबिज टोलीबिरुद्ध बलिङमा बिशेष ध्यान दिने बताएको छ । न्युजिल्याण्डका ब्याट्सम्यान समेत विश्वका नम्बर वान बलर जस्प्रित बुमराहबिरुद्ध आक्रामक व्याटिङको तयारीमा छन् । एकदिवसीय वरियातामा शीर्ष २ मा रहेका भारतका बिराट कोहली र रोहित शर्मालाई रोक्न बलिङको दोस्रो बरियातामा रहेका न्युजिल्याण्डका ट्रेन्ट बोल्टलाई सहज भने पक्कै छैन ।


प्रतिक्रिया