६ सय बढी कम्पनीद्वारा अमेरिकाका राष्ट्रपति ट्रम्पको ध्यानाकर्षण 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | बीबीसी

अमेरिकाले चीनसँगको व्यापार युद्ध अन्त्य गर्न माग सहित ६ सय भन्दा बढी कम्पनीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । चिनियाँ सामग्रीमा करवृद्धि गर्दा अमेरिकी व्यापार र उपभोक्तामा असर पुग्ने भन्दै वालमार्ट इंक, टार्गेट कोर्प लगायतका कम्पनीले राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन् ।

करवृद्धि दुबै मुलुकको हितमा नरहेको उनीहरुको दाबी छ । ह्वाईट हाउसले भने तत्काल प्रतिक्रिया दिएको छैन । अमेरिकाले चिनियाँ सामग्रीमा कर बढाउँदा व्यापारमा असर पुग्ने भन्दै कृषि, उत्पादन क्षेक्र, खुद्रा वित्रेता तथा प्रविधि उद्योग आबद्ध १ सय ५० भन्दा बढी उद्योगीहरुले करवृद्धि विरोधी राष्ट्रिय अभियान नै चलाएका छन् ।

लामो समयदेखि बहसको विषय बनेको चीन र अमेरिकी व्यापार युद्धलाई समयमै सम्बोधन नगरे स्थिति अकल्पनीय हुने भन्दै यसअघि पनि उद्योगीहरुले अमेरिकाको ध्यानाकर्षण गराईसकेका छन् । जापानको ओसाका शहरमा जुन महिनाको २८ र २९ तारिखमा हुने जी २० सम्मेलनमा दुई मुलुकबीच यो विषयमा वार्ता गर्न सक्ने अनुमानकाबीच उद्योगीहरुले पुनः सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विश्वका ठूला अर्थतन्त्र भएका मुलुकबीचको युद्धले सम्पूर्ण विश्वलाई प्रभाव पार्ने भएकाले चाडै समस्या समाधान हुनुपर्ने विज्ञहरुको सुझाव छ । अमेरिकाले चीनबाट आयात गर्ने ३ खर्ब बराबरका सामग्रीमा २५ प्रतिशत करवृद्धिको निर्णय गरिसकेको छ । 


प्रतिक्रिया