लैंगिक समानताका लागि स्वीट्जरल्याण्डका महिला आन्दोलित

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | बीबीसी

लैंगिक समानताका लागि स्वीट्जरल्याण्डका महिला आन्दोलित बनेका छन् । उनीहरुले आज देशव्यापी आन्दोलन घोषणा गर्ने बिबिसीले उल्लेख गरेको छ । मुलुकको समानता मन्द गतिमा रहेको भन्दै धेरै समय, धेरै तलब र धेरै सम्मान भन्ने नारासहित उनीहरु आन्दोलनमा उत्रन लागेका हुन् ।

ज्यालादारीमा पुरुषको तुलनामा महिलाको तलब २० प्रतिशत कम र पेन्सनमा समेत ३७ प्रतिशतको अन्तरका कारण रुष्ट बनेका उनीहरु समान हकको माग गर्दै आन्दोलनमा उत्रन लागेका हुन् । यस्तो संरचनाले व्यवस्थापकीय हैसियतमा महिलालाई कमजोर बनाउने उनीहरुको दाबी छ । 

महिला अधिकार र समानताका लागि सन् १९९१ मा भएको विश्वव्यापी आन्दोलनमा सहभागी कतिपय महिलाहरु समानताका लागि स्वीट्जरल्याण्डमा पुनः एक पटक आवाज उठाउने तयारी गरेका छन् । २८ वर्षको अन्तरालमा धेरै कुरामा परिवर्तनको महसुस भएपनि तलब र पेन्सन पुरुषको तुलनामा न्यून भएकाले यसको समाधान गर्न आन्दोलन जरुरी भएको अभियन्ता तथा आन्दोलनकी संयोजक पाओला फेर्रो को भनाई छ ।

लामो समयपछि पनि महिलाका समस्या उस्तै हुनु दुर्भाग्यपूर्ण भएको र यसको समाधान सम्भव भएकाले आन्दोलनको विकल्प नरहेको उनको भनाई छ । आन्दोलनमा शहरी, ग्रामीण तथा कृषि र विभिन्न क्षेत्रका महिलाहरुको सहभागीता रहनेछ । हजारौं महिलाहरुले आन्दोलनमा सहभागी हुन जाने भन्दै र काममा अनुपस्थित हुनेबारे खबर आफ्ना कार्यक्षेत्रमा गराईसकेका छन् । विकसित मुलुकमा समेत लैगिंक समानताको स्तर सन्तोषजनक छैन भन्ने कुरा स्वीट्जरल्याण्डको यस घटनाले दर्शाउँछ ।


प्रतिक्रिया