विश्वकप क्रिकेटमा इङल्याण्ड र वेष्टइण्डिज भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३१, २०७६ | एजेन्सी

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको १९ औं खेलमा आज आयोजक इङल्याण्ड र वेष्टइण्डिजेबीच प्रतिस्पर्धा हुँदैछ । साउथहेम्प्टनमा नेपाली समयानुसार अपरान्ह सवा ३ बजे हुने खेलमा आयोजक तेस्रो र वेष्टइण्डिज दोस्रो जितको खोजीमा रहने छन् । अघिल्लो चरण प्रवेशको सम्भावना कायम राख्न दुबै टोलीलाई आजको खेल महत्वपूर्ण रहेको छ ।

चौंथो  खेल खेल्न लाग्दा घरेलु टोलीलाई विस्फोटक ब्याट्सम्यानले भरिएको क्यारेबियन टोलीलाई हराउन निक्कै चुनौती रहनेछ । जारी विश्वकपमा बनेका ७ वटा शतक प्रहार गर्नेको सूचीमा रहेका ३ इङलिस ब्याट्सम्यानको फर्मले वेष्टइण्डिजलाई केही शंसकित बनाएको छ ।

जासन रोए, जोए रुट र जस बटलरसँगै उत्कृष्ट प्रर्दशन गर्दै आएका बेन स्टोक्सको प्रर्दशन वेष्टइण्डिजका लागि भारी पर्न सक्छ । विस्फोटक ब्याट्सम्यानको साथ पाएको क्यारेबियन टोलीका जासन होल्डर र क्रिस गेलले मात्र जारी विश्वकपमा अर्धशतक बनाएका छन् ।

बलिङतर्फ बढी विकेट लिनेको सूचीमा रहेका इङल्याण्डका जोफ्रा आर्चर र वेष्टइण्डिजका ओस्हान थोमसबीचको अब्बलताको परिक्षण पनि आज हुनेछ । यद्यपि, बारम्बारको बर्षाले खेलहरु प्रभावित बन्दै आएको परिदृश्यले आज पनि अन्यौलता थप्ने निश्चित छ ।    

यसअघि हिजो इण्डिया र न्यूजिल्याण्डबीचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । खेल स्थगित भएपछि दुबै टोलीलाई एक–एक अंक प्रदान गरिएको छ । अपराजित रहेका दुबै टोलीबीचको खेल रद्द भएपनि ४ खेलबाट ७ अंक जोडेको न्यूजिल्याण्ड तालिकाको शीर्ष स्थानमा रहेको छ । एक खेल कम खेलेको ईण्डिया ५ अंकमा तालिकाको पाँचौ स्थानमा छ । 


प्रतिक्रिया