इङल्याण्ड र इटाली महिला विश्वकपको प्रि क्वार्टरफाइनलमा

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ ३२, २०७६ | एजेन्सी

इङल्याण्ड र इटाली फ्रान्समा जारी महिला विश्वकप फुटबलको प्रि क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह सी अन्तर्गतको खेलमा इटालीले जमैकालाई ५–० ले हरायो । २ खेलबाट ६ अंक जोडेको इटाली एक खेल अगावै विश्वकपको प्रि क्वार्टरफाइनल पुगेको हो ।

पहिलो हाफमा २–० गोलको अग्रता बनाएको इटालीले दोस्रो हाफमा ३ गोल थपेको थियो । इटालीका क्रिष्टिना गिरेल्लीसले हृयाट्रिक गरेको खेलमा औरोरा गालीले २ गोल थपिन् । 

समूह डी अन्तर्गतको खेलमा इङल्याण्डले अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्‍यो । जोडी टेलरले खेलको ६१ औ मिनेटमा गरेको गोल उसलाई अघिल्लो चरण पुर्‍याउन पर्याप्त बनेको थियो ।

पहिलो खेलमा जापानसँग बराबरीको नतिजा निकालेको अर्जेन्टिना दोस्रो खेलमा भने स्तब्ध भएको हो । लगातार दोस्रो जित निकालेको इङल्याण्ड प्रि क्बार्टरफाइनलमा प्रवेश गर्‍यो ।

सोहि समूहको खेलमा जापानले स्कटल्याण्डलाई २–१ ले हरायो । २ खेलबाट ४ अंक जोडेको जापान तालिकाको दोस्रो स्थानमा रहेको छ । समूह चरणको अन्तिम खेलमा जापान र इङल्याण्ड तथा स्कटल्याण्ड र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । सो खेलपछि मात्र प्रि क्वार्टरफाइनल पुग्ने दोस्रो टोलीको टुंगो लाग्नेछ ।  


प्रतिक्रिया