मन्त्री संसदले जन्माएको हो, आकाशबाट आएको हैन : लक्ष्मणलाल कर्ण

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | काठमाडौं

राष्ट्रिय जनता पार्टी राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले संसदीय समितिको निर्देशन पालना नगर्ने सरकारको अडान संविधानको मर्म विपरीत भएको बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिले लोक सेवा आयोगले निकालेको विज्ञापन रोक्न दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै उहाँले सरकारले पनि संसदीय सर्वोच्चता स्वीकार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्रीको जन्म यही संसदबाट भएको हो, मन्त्री आकाशबाट आएको हैन । मन्त्रीले बुझ्नु पर्छ यो संसदले जन्माएको हो । संसदीय समितिलाई मन्त्री मान्नै पर्छ ।’ संसदीय समितिले लोक सेवा आयोगलाई कर्मचारी भर्ना सम्बन्धी विज्ञापन रोक्न निर्देशन दिइसकेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र लोक सेवा आयोगले भने निर्देशन पालना गर्न अटेर गरिरहेको उहाँले बताउनुभयो ।

संविधान मुलुकको मुल कानून भएको भन्दै कर्णले कुनै पनि बहानामा संविधानलाई रोक्न नमिल्ने बताउनुभयो । सरकार र लोक सेवाले आफ्नो अडान त्यागेर समितिको निर्देशन पालना गर्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो यो, ‘समिति र संसदको अवहेलना नहोस्, यो संसदीय व्यवस्थाको मर्यादा नष्ट नहोस् ।’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुठी विधेयकको विरोधमा गुठियाराले चलाएको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले सरकारद्वारा प्रस्तुत गुठी विधेयकले मुलुकको परम्परा, धर्म, संस्कृति र सभ्यतामाथि प्रहार गरेको बताउनुभयो ।

तत्काल सो विधयेक फिर्ता लिई वार्ता र संवादको माध्यमबाट समाधान खोज्न उहाँले सरकार समक्ष माग गर्नुभयो । सरकारले सो विधयेक फिर्ता नलिए यसबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिको सरकार स्वयमले जिम्मेवारी दिलनुपर्ने उहाँको भनाई थियो । 

‘तत्काल उक्त विधयेक फिर्ता लिई संवाद र वार्ताको बाटोमा सरकार जाओस् भन्ने माग गर्दछ, उहाँले भन्नुभयो, अन्यथा यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिको पनि सरकार स्वयम जिम्मेवार हुने तर्फ पनि सरकारलाई सचेत गराउन चाहन्छौं ।’

प्रधानमन्त्रीले गुठी विधयेकको विरुद्धमा मुलुकमा भइरहेको विरोध प्रति विचार गरिनेछ भन्ने बताइरहँदा सरकारकै प्रवक्ताले सामन्ती अवशेष समाप्त पारी छाड्ने भनेर अभिव्यक्ति दिएको भन्दै उहाँले सरकारको दोहोरो चरित्र स्वीकार्य नहुने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले गुठी विधयेक बारे विचार गरिनेछ भन्ने बताइरहँदा सरकारकै प्रवक्ताले सामन्ती अवशेष समाप्त पारी छाड्ने भनेर अभिव्यक्ति दिएको छ । सरकारको यो दोहोरो चरित्र, कुटे जस्तो र रोए जस्तो नाटक हामीलाई स्वीकार्य हुँदैन ।’

गुठी नेपाली समाजको सम्पति, सम्पदा र संस्कृति भएको भन्दै सांसद बडुले यसमा कुनै आँच आउन दिन नहुने बताउनुभयो । वर्तमान सरकार दुई तिहाईको दम्भमा मुलुकको मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र होली वाइनको अभिषेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने तर्फ लागेको उहाँले आरोप लगाउनुभयो । सरकारले आत्मघाती बाटो रोजेको भन्दै यो देश र जनताको हित विपरीत भएको सांसद बडूको तर्क थियो । 

उहाँले भन्नुभयो, ‘दुई तिहाईको नेकपा नेतृत्वको सरकार नेपाली समाजको गौरवपूर्ण, मौलिक संस्कृति र पहिचानलाई समाप्त गर्ने र होली वाइनको अभिषेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने सर्वथा गलत र आत्मघाती बाटोमा किन उद्दत हुँदैछ ।’ सरकार दमनमा उत्रिएको आरोप लगाउँदै उहाँले आन्दोलनरत जनताको माग प्रति उदासिन रहेको बताउनुभयो । 

‘यसो लागिरहेको छ सरकार आन्दोलनरत जनताको आवाज सुनिरहेको छैन । आन्दोलनको मर्म र गम्भीरर्यतालाई बुझ्न चाहिरहेको छैन, उहाँले भन्नुभयो, आन्दोलनलाई फगत सरकारको विरोध सम्झेर दमन गर्न खोजिरहेको छ । अब सरकार दमन होइन वार्ता र संवादको बाटोमा जाओस् ।’


प्रतिक्रिया