असुरक्षित बन्दै बेनी–जोमसोम सडक

असार २, २०७६ |  म्याग्दी

अक्करे भिर खोपेर निर्माण गरिएको अप्ठेयारो तथा बाढी पहिरोको उच्च जोखिममा रहेको बेनी–जोमसोम सडकमा लुटेरा समेत देखिन थालेका छन् ।

बेनी–जोमसोम ७६ किलोमिटर सडकको गलेश्वर–बैसरी–तिप्ल्याङ्ग–तातोपानी सम्मको २० किलोमिटर लामो अक्करे भीर र जंगल क्षेत्रमा कुनै सुरक्षा निकाय नभएको र वस्ती पनि नभएकोले रातिको समयमा लुटेराको खतरा बढेको हो ।  

बेनी–जोमसोम–कोरला सडकमा यात्ररत जिपका यात्रुलाई लुट्ने रघुगंगा गाउँपालिका, १ का यजन पुर्जा, अन्नपूर्ण गाउँपालिका, ७ का समिट पुन र पर्वत जलजला गाउँपालिका, १ का कुसल पाईजालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट बेनी हुँदै लोमन्थाङ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको यात्रु बाहक जिपलाई सोमबार बिहान ३ बजे रघुगंगा गाउँपालिका, १ तिप्ल्याङ्ग छेउ भीरमा रोकेर लुटपाट गरेका थिए । राति बाटोमा लुटिएपछि यात्रुले १० किलोमिटर अगाडि रहेको सीमा प्रहरी चौकी तातोपानीमा पुगेर उजुरी गरेका थिए ।

‘बिहान ३ बजे बेनी–जोमसोम सडकमा जिपमा यात्रारत यात्रु लुटिएको खबर पाउना साथ प्रहरी परिचालन भई घट्नास्थल नजिकै तिप्ल्याङ बजारबाट लुटपाटमा संलग्न तीनै जनालाई पक्राउ गरेका छौं’ जिल्ला प्रहरी प्रमुख डीएसपी महेन्द्रप्रसाद मरासिनीले भन्नुभयो, ‘बेनी–जोमसोम सडकमा बाढीपहिरोसँगै लुटपाट र डकैतीको जोखिम पनि थपिएको छ ।’ 


प्रतिक्रिया