नेपाली स्याट वानले पृथ्वीको परिक्रम सुरु गर्‍यो

रेडियो कान्तिपुर संवाददाता

असार २, २०७६ | काठमाडौं

नेपालको पहिलो भू–उपग्रह नेपाली स्याट वानले पृथ्वीको परिक्रम सुरु गरेको छ । नेपाली समयानुसार आज अपरान्ह करिव ४ बजे नेपाली स्याट वानले पृथ्वीको परिक्रम सुरु गरेको काठमाडौं विश्वविद्यालयका प्राध्यापक रमेशकुमार मास्केले जानकारी दिनुभयो ।

पृथ्वीबाट ४ सय किलोमिटर टाढाको दुरीमा रही नेपाली स्थाट वानले ९ पटक पृथ्वीलाई परिक्रम गर्ने र एक पटकको परिक्रममा नेपालको भू–भागमा ५ देखि १० मिनेट रहने प्राध्यापक मास्केले बताउनुभयो । स्याट वानले ५ मेघापिक्सलको गुणस्तरमा तस्बिर खिचेर पठाउने छ ।

भू–उपग्रहले अन्तरिक्षबाट फोटो सहितका विभिन्न सूचना भुटान, श्रीलंका, बंगलादेश र घानामा रहेको ग्राउण्ड स्टेसनलाई उपलब्ध गराउने प्राध्यापक मास्केले बताउनुभयो । नेपालमा ग्राउण्ड स्टेसन तयार नभइसकेकाले हालका लागि ती मुलुकबाट सहयोग लिनु परेको उहाँले बताउनुभयो । 

जापानस्थित क्यूसू इन्सिटिच्युट अफ टेक्नोलोजी क्यूटेक विश्वविद्यालयका विद्यार्थीको सहयोगमा सो भू–उपग्रह अन्तरिक्ष पठाइएको हो । बर्डस कार्यक्रम अन्तर्गत नेपाल सरकारको तर्फबाट नास्टले भू–उपग्रह निर्माणका लागि जापानको क्यूटेक विश्वविद्यालयसँग सहकार्य गरेको थियो ।

उपग्रह निर्माणका लागि नेपालको तर्फबाट इलेक्ट्रिकल र कम्युनिकसेन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जियिरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए । 


प्रतिक्रिया