लाइसेन्सको विज्ञापन खुल्यो

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६ | काठमाडौं

– शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र लाइसेन्सको विज्ञापन गरेको छ । आयोगले विज्ञापन खुलाएसंगै प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन गराउन इच्छुक व्यक्तिले लाइसेन्सका लागि फारम भर्न पाउने भएका छन् । यस पटकदेखि अनलाइन फारम भर्ने व्यवस्था गरेको आयोगले विभिन्न पा“च प्रकारको विज्ञापन गरेको छ । प्राथमिक तहको अध्यापन अनुमति पत्रका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम वा ४ सय पूर्णाङकको शिक्षा विषय लिई माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

निम्न माध्यमिक तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा २ सय पूर्णाङक सहित परीक्षा दिन चाहेको कुनै एक विषयमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनुपर्नेछ । यस्तै माध्यमिक तहको अध्यापन अनुमति पत्रका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट ३ सय पूर्णाङक सहित परीक्षा दिन चाहेको कुनै एक विषयमा कम्तीमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तीमा १० महिना अवधिको तालिम लिएको हुनु पर्नेछ ।

यस्तै केही विषयमा तालिम नलिए पनि विषयगत प्रमाणपत्र हासिल गरेका व्यक्तिले पनि चौथो र पा“चौ तहमा गरिएका विज्ञापनमा फारम भर्न पाउने आयोगले व्यवस्था गरेको छ । आयोगले पहिलो पटक अनलाइन मार्फत विषयगत विज्ञापन गरेको हो । अध्यापन अनुमति पत्रको नतिजापछि आयोगले आवश्यक शिक्षक दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी पनि गरेको छ । 

 


प्रतिक्रिया