राप्रपाको विस्तारित बैठक ६ र ७ गते

रेडियो कान्तिपुर संवाददाता

असार ३, २०७६ | काठमाडौं

– राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा नेपाल सरकार समक्ष प्रस्तुत २२ बुँदे माग, सरकारसंग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चरणको राष्ट्रिय स्वाभिमान यात्रा एवं समसामयिक राजनीतिक परिस्थितिको समिक्षा गर्दै भावी रणनीति तय गर्नेछ ।

बैठकमा अध्यक्ष कमल थापाबाट समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा लगायत विषयमा प्रतिवेदन पेश हुने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले  जानकारी दिनुभयो ।

विस्तारित बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश कार्य समितिका अध्यक्षहरु, केन्द्रीय विभाग र भ्रातृ संगठनका प्रमुखहरु र ७७ वटै जिल्लाका अध्यक्षहरुको सहभागीता रहनेछ । बैठकमा प्रदेश अध्यक्ष, भ्रातृ संगठनका प्रमुख र जिल्ला अध्यक्षहरुबाट सांगठनिक र भावी कार्य योजना सम्बन्धि प्रतिवेदन पनि पेश हुने बताइएको छ । 


प्रतिक्रिया