हुम्लामा भएको दुर्घटनामा हराइरहेकाको अवस्था अझै अज्ञात

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

– हुम्लाको सिमकोटस्थित खार्पुनाथ गाउँपालिका ५ कैलावालुमा हिजो भएको जिप दुर्घटनामा परि हराई रहेकाहरुको अवस्था अझै अज्ञात छ । नदीमा पानीको बहाव बढेको र गहिरो खोंचमा दुर्घटना भएकाले खोजीकार्यमा समेत कठिनाई भएको प्रहरीलाई उद्यृत गर्दै सहकर्मी जनक शाहीले जनाएका छन् । खार्पु गाउ“पालिकाको केन्द्र याङकु जाने क्रममा लु १ ज ७१६६ नम्वरको जीप सडकबाट कर्णाली नदीमा खसेको थियो ।

जीप दुर्घटनामा परि बेपत्ता हुनेहरुमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल, चालक मणिराज शाही, काठमाडौं थानकोटका राजु श्रेष्ठ, खार्पुनाथ ४ का, चन्द्र हमाल, नैनसिंह भण्डारी, खार्पुनाथ ५ का बसन्ती शाही, नन्द देवी सिंह, गोकुल सुनार यसैगरी खार्पुनाथ १ का, कौर परियार र उनका दुई वर्षीया छोरा लगायत छन् ।

प्रहरी निरिक्षक राजेन्द्र सिंहको नेतृत्वमा सेना, शसस्त्र प्रहरी लगायतको टोलीले आजपनि बिहानै देखि खोजी जारी राखेका छन् । दुर्घटनास्थलमा जीपको चाबी र अगाडीको सिसा मात्रै भेटिएको प्रहरीले जनाएको छ । हराईरहेकाको खोजीका लागि काठमाडौंबाट गोताखोरको टोली सेनाको हेलिकोप्टर मार्फत घटनास्थलमा गएको छ । 


प्रतिक्रिया