भूमि व्यवस्था अब प्रविधि मैत्री : प्रधानमन्त्री ओली

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताउनुभएको छ । काठमाडौंको कलंकीमा आज नमुना मालपोत कार्यालय घोषणा कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भूमि व्यवस्थापनलाई प्रविधि मैत्री बनाउन सुरु गरिएको बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले विकास र सेवाका प्रयासमा प्रविधिको प्रयोग गरेर जनतालाई छिटो र छरितो सेवा दिइने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब मालापोतमा मात्र होइन शिक्षा र स्वास्थ्यका क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गरिनेछ ।” 

प्रधानमन्त्री ओलीले अबको दुई वर्ष भित्रमा देशका सबै मालपोत कार्यलयका ढड्डाहरु, पुराना लिखतहरु डिजिटलाइज्ड भइसक्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगले थोरै जनशक्तिबाट धेरै काम लिन सकिने, उत्पादन र उत्पादकत्व वृद्धि गरिने र सबै काम पारदर्शी हुने बताउनुभएको छ । 

“नेपाललाई आधुनिक दिशातर्फ अघि बढाउनका लागि प्रविधिको ठूलो भूमिका छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रो नयाँ राष्ट्रिय गन्तव्य समृद्ध नेपाल, सुखी नेपालीको प्राप्तिका लागि प्रविधि मैत्री भएर काम गर्नुपर्दछ ।” 


प्रतिक्रिया