जोगबनी नाका हुँदै तेस्रो मुलुकबाट हुने आयात घट्यो 

असार ४, २०७६ | विराटनगर

पूर्वको जोगबनी नाका हुँदै तेस्रो मुलुकबाट हुने आयात चालू आर्थिक वर्ष केही घटेको छ । गतवर्षको तुलनामा यसवर्षको बैशाख सम्ममा यो नाकाबाट तेस्रो मुलुकको आयात झण्डै साँढे चार अर्ब रुपैयाँले घटेको छ । यो अवधिमा ४४ अर्ब ५६ करोड ६९ लाख  रुपैयाँ बराबरका सामान आयात भएको विराटनगर भन्सार कार्यालयको तथ्याङक छ ।

गत वर्षको सोही अवधिमा ४८ अर्ब ९४ करोड २० लाख रुपैयाँ बराबरका सामान तेस्रो मुलुकबाट आयात भएको थियो । भन्सार कार्यालयका अनुसार भारतबाट हुने आयात पनि बैशाख देखि निकै घटेकाले राजश्व असूली लक्ष्य प्रभावित भएको छ । विराटनगर भन्सारले चालू आर्थिक वर्ष ४२ अर्ब रुपैयाँ राजश्व असूलीको लक्ष्य राखेको छ ।

भन्सार अधिकृत मणीराम पौडेलका अनुसार जेठ सम्ममा ३५ अर्ब ७ करोड ६८ लाख रुपैयाँ राजश्व असूली भएको छ । यो कार्यालयले दैनिक १२ करोड रुपैयाँ राजश्व असूली गर्दै आएको थियो । अहिले दैनिक लक्ष्य पनि पूरा हुन सकेको छैन ।

असारभरी आयात निर्यात अहिलेकै जस्तो रहे लक्ष्य अनुसारको राजश्व असूली हुने स्थिति नभएको उहाँको भनाई छ । राजश्व उठने वस्तु रेडिमेन्ट गार्मेन्ट, फलाम, स्टील, स्टक्चर लगायतका सामानको आयात अत्यन्तै न्यून रहेको पौडेलले बताउनुभयो । 

आयातलाई निरुत्साहित गर्न सरकारले लिएको नीतिकै कारण भारत र तेस्रो मुलुकबाट हुने आयात घटेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाको बुझाई छ । स्थानीय बजारमा व्यापारको अवस्था पनि खस्कँदो छ । राजश्व दरमा पनि परिवर्तन गरिएको छ ।

मुन्दडाले भने सिमावर्ती बजारमा राजश्वको दर निकै फरक भएकाले चोरी पैठारी बढ्दा आयात घटेको बताउनुभयो । आयात भएका सामानको भन्सार जाँचमा कर्मचारीले अनावश्यक दुख दिने गरेकाले पनि आयात कर्ता निरुत्साहित भएको एक आयात कर्ताको गुनासो छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरका अनुसार बैशाखदेखि भारतबाट हुने आयात अहिले सम्मकै सबैभन्दा बढी घटेको छ । 


प्रतिक्रिया