बजेट प्रति सत्तारुढ दलकै सांसदको असन्तुष्टि 

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | काठमाडौं

आफ्नो निर्वाचन क्षेत्रको भौतिक पूर्वाधार विकासका योजना आगामी आर्थिक वर्षको बजेटमा नपरेको भन्दै सांसदले असन्तुष्टि जनाएका छन् । एक डेढ करोडका टुक्रे योजना मात्रै परेको भन्दै सत्तारुढ कै सांसदले पनि बजेटप्रति असन्तुष्टि जनाएका हुन् ।

विनियोजन विधेयक अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात, श्रम रोजगार तथा सामाजिक सुरक्षा र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका लागि विनियोजित शीर्षकमाथिको छलफलमा सांसदले असन्तुष्टि जनाएका हुन् । दिलेन्द्र प्रसाद बडु, खगराज अधिकारी, जनार्दन शर्मा लगायत सांसदले सडक सञ्जालका लागि बजेट कम भएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

यस्तै विद्युत उत्पादनमा निजी क्षेत्रलाई उपेक्षा गरिएको पनि सांसदले आरोप लगाएका छन् । प्रसारण लाइनको पर्याप्तता नहुँदा उत्पादित विद्युत केन्द्रीय प्रसारण लाइनमा जोड्न नसकिएको र भारतबाट ल्याउन बाध्य हुनुपरेको उनीहरुको भनाई छ ।

विभिन्न ठाउँमा रहेका काठका पोल हटाउन सरकारले बजेट व्यवस्थापन गनुपर्ने सांसदको सुझाव छ । यस्तै मुलुकको विकासका लागि अन्य मुलुकसँग श्रम सम्झौता गर्नुभन्दा स्वदेशमा नै उद्योग स्थापना गरी रोजगार सिर्जना गर्ने विषय बजेटमा उल्लेख नहुनु दुखद भएको उनीहरुले बताएका छन् ।

विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयका लागि छुट्टयाइएको शीर्षकमाथिको छलफल भोलि सक्ने संघीय संसद सचिवालयको तयारी छ ।

राष्ट्रपति/उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय लगायत बाँकी मन्त्रालयको लागि विनियोजित शीर्षकमाथिको छलफल भोलि सक्ने सभामुख कृष्ण बहादुर महराले सदनलाई जानकारी गराउनुभयो । 


प्रतिक्रिया