साउदी युवराज सहितका उच्च अधिकारीमाथि छानबिन हुनुपर्छ : राष्ट्रसंघ

रेडियो कान्तिपुर संवाददाता

असार ४, २०७६ | बीबीसी

साउदी अरबका पत्रकार जमाल खसोज्गिको हत्या घटना सम्बन्धमा साउदी युवराज मोहम्मद विना सलमान सहितका उच्च अधिकारीमाथि छानबिन हुनुपर्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।

घटनाको अनुसन्धानमा खटिएका राष्ट्रसंघका विशेष दूत एग्नेस कालामार्डले हत्याको जिम्मेवारी साउदी युवराज मोहम्मद विना सलमान सहितका उच्च अधिकारीले लिनुपर्ने प्रशस्त आधार भेटिएको भन्दै थप अनुसन्धान हुनुपर्नेमा जोड दिएका हुन् ।

यो अनुसन्धानलाई आधार बनाएर घटना सम्बन्धमा अन्तर्राष्ट्रिय निकायबाट स्वतन्त्र र पारदर्शी रुपमा छानबिन हुनुपर्ने उनले बताए । टर्कीको इस्तानबुल स्थित साउदी कूटनीतिक नियोगमा पत्रकार खसोज्गीको गत अक्टोबर २ मा हत्या भएको थियो ।

घटनामा संलग्न रहेको भन्दै साउदीले आन्तरिक अनुसन्धानका लागि ११ जनालाई पक्राउ गरेपनि ठोस कारबाही बारे विवरण सार्वजनिक गरेको छैन । ५८ वर्षीय पत्रकार खसोज्गी अमेरिकामा रहेर वासिङटन पोष्टमा स्तम्भ लेखन गर्दथे ।

खसोज्गीको हत्याका लागि साउदी अरबबाटै गुप्तचर विभागका ब्यक्तिलाई टर्की फठाईएको राष्ट्रसंघीय अनुसन्धानका क्रममा लिईएको स्वतन्त्र बयानका त्रममा खुलेको बीबीसीले उल्लेख गरेको छ ।   


प्रतिक्रिया