डोल्पाका ४ स्थानीय तहमा अझै बैंक पुगेनन्

असार ७, २०७६ | डोल्पा

सरकारले मुलुकका सबै स्थानीय तहहरुमा बैंक पुर्‍याउने उद्देश्यका वांणिज्य बैंकहरुलाई ताकेता गरेपनि डोल्पाका ४ स्थानीय तहहरुमा अझै बैंक पुथेका छैनन् । स्थानीय सरकार गठन भएको दुई वर्ष पूरा भईसक्दा पनि जिल्लाका डोल्पोबुद्ध गाउँपालिका, शे फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी ४ वटा गाउँपालिकामा बैंक स्थापना हुन सकेको छैन ।

डोल्पोबुद्ध र छार्का ताङसोङ गाउँपालिकामा बैंकको शाखा सञ्चालनका लागि राष्ट्रिय वाणिज्य बैंकलाई तोकिएको छ । नेपाल राष्ट्र बैंकले शे फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंक र काइके गाउँपालिकामा नेपाल बैंक लिमिटेडको कार्य क्षेत्र २ वर्ष अघि नै तोकि सकेको थियो ।

काइके गाउँपालिकामा कार्य क्षेत्र बढाउने अनुमति पाएको नेपाल बैंक लिमिटेडले शाखा स्थापनाका लागि कर्मचारी भर्ना गरेर घर भाडा सम्झौता समेत गरिसकेको र सकेसम्म यही असार मसान्त भित्र बैंक सञ्चालन गर्ने प्रयास भईरहेको जनाएको छ ।

माथिल्लो डोल्पाका ३ वटा स्थानीय तहहरुमा बैंक स्थापना हुने कुरामा स्थानीयहरु निराश देखिन्छ । १२ महिना बस्ने त्यही बस्ने गरी स्थायी प्रहरी चौकी नभई बैंकहरुले आफ्ना शाखा स्थापना नगर्ने भने पछि स्थानीयहरुमा निराशा छाएको हो । 

स्थानीय तहमा बैंक स्थापना नहुँदा जिल्ला सदरमुकाम दुनैमा बसेर सम्पूर्ण विकास अनुदान र सशर्त अनुदान अथवा शिक्षा, स्वास्थ्य लगायत देखि कर्मचारी र पदाधिकारीहरुको पारिश्रमिकहरु भुक्तानीका काम गर्नु परेको छार्का ताङसोङ गाउँपालिकाले जानकारी दिएको छ । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा बैंकले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेल बैंकको शाखा स्थापना गर्न नसकिने जवाफ दिएको शे फोक्सुण्डो गाउँपालिका ८ पुग्मका आङबहादुर लामाले बताए ।

राष्ट्रिय वाणिज्य बैंकले पनि डोल्पोबुद्ध गाउँपालिकाको धो र छार्का ताङसोङ गाउँपालिकाको छार्कामा बैंक स्थापनाका लागि अध्ययन गर्न जेठ दोस्रो हप्ता बैंकको टोली पठाएको थियो । धो पुगेको उक्त टोलीका सदस्यहरुलाई लेक लागेर उद्धार गरी झार्नु परे पछि ती गाउँपालिकामा बैंक स्थापनाको काम झनै अन्यौल बनेको छ । सकेसम्म छिटो बैंक स्थापना गर्ने प्रयास भैरहेको डोल्पोबुद्ध गाउँपालिकाका एक जनप्रतिनिधिले बताए ।

डोल्पाका ८ स्थानीय तहहरु मध्ये हालसम्म ४ वटा स्थानीय तहहरुमा मात्र बैंक स्थापना भई सञ्चालनमा छन् । बैंक स्थापना नभएका स्थानीय तहहरुको काम हप्तादिन लगाएर अझै जिल्ला सदरमुकाम दुनै आएर काम गर्नु पर्दा निकै सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । 


प्रतिक्रिया