अवकास शिक्षकलाई उपदान

असार १३, २०७६ | लमजुङ

- सरकारले अनिवार्य अवकास पाएका लमजुङका शिक्षकलाई उपदान दिन सुरु गरेको छ । लमजुङका शिक्षकले बढीमा ११ लाख रुपैयाँसम्म पाएका छन् । शिक्षा विकास तथा समन्वय इकाईले अवकास प्राप्त शिक्षकलाई उपदान दिन थालेको जनाएको छ । इकाई प्रमुख नारायण रेग्मीका अनुसार बुधबार १५ जना र हिजो १५ जनालाई २ करोड रुपैयाँ बढीको चेक हस्तान्तरण गरिएको छ ।

 शिक्षकको डकुमेन्टको आधारमा कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) मा चेक बन्ने र शिक्षा कार्यालयले उपदान पाउनुपर्ने शिक्षकलाई चेक दिने गरेको छ । पहिलो चरण अन्तर्गत लमजुङमा १ सय ६४ जना शिक्षकले पाउनुपर्ने रकम आइसकेको इकाई प्रमुख रेग्मीले बताउनुभयो । १० करोड रुपैयाँ बजेट आएको र वितरणकार्य भइरहेको उहाँले जानकारी दिनुभयो । दोस्रो चरण अन्तर्गत १ सय जनाको रकम विद्यालय शिक्षक किताबखानाबाट आउन बाँकी रहेको उहाँले बताउनुभयो । लमजुङमा सरकारी उपदान पाउने शिक्षक २ सय ६४ जना छन् । 

सरकारले अस्थायी शिक्षकका लागि गत बर्ष असार २८ र २९ गते परीक्षा लिएको थियो । पास झएकाले गत चैत २९ गते स्थायी नियुक्ति लिएका थिए । स्थायी हुन नसकेका र २०७२ असोज २ गतेसम्म नियुत्ति लिएका सवै अस्थायी शिक्षकले अनिवार्य अवकास पाइसकेका छन् । सरकारले ५ बर्ष अस्थायी सेवा पुगेकाले उपदान पाउने व्यवस्था गरेको छ । 


प्रतिक्रिया