झापा र इलाम विजयी

रेडियो कान्तिपुर संवाददाता

असार १८, २०७६ |  इलाम 

इलाममा सुरु भएको मुख्यमन्त्री प्रदेश लिगमा झापाको सैनिक युथ क्लब र इलामको रेडहर्स क्लब विजयी भएका छन् । समूह ‘ग’ अन्तर्गत सदरमुकामस्थित ठूलो टुँडिखेलमा आयोजित पहिलो खेलमा सैनिक युथ क्लबले पाँचथरको सयपत्री स्पोर्टिङ क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गरेको हो ।

त्यस्तै इलामले १ का विरुद्ध ४ गोल गर्दै ताप्लेजुङ विरुद्ध ३ अंक हासिल गरेको हो । झापाका लागि दोस्रो मिनेटमा विकेश लिम्बुले गोल गरे । ७० औं मिनेटमा मिलन राईले अर्को गोल थपे । दोस्रो हाफको इन्जुरी समयमा विकेशले नै अर्को गोल थप्दै आफ्नो टिमलाई महत्वपूर्ण ३ अंक हासिल गर्न मद्धत गरे ।

पाँचथरका लागि अरुन चेम्जोङले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए । इलामका लागि पासाङ शेर्पाले ३३ र ६२ मिनेटमा गोल गरे । त्यस्तै युवराज राईले ६७ र ८१ मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाए । ताप्लेजुङका मौसम राईले १ गोल फर्काए ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोले खेलकुद क्षेत्रको विकासका लागि ५० करोड हाराहारी रकम छुट्याएको बताए । इलाममा २१ गते सम्म सञ्चालन हुने लिगका विजेता र उपविजेताले विराटनगरमा असार २६ देखि हुने सुपर सिक्समा स्थान बनाउने छन् ।

सोमबार उदयपुरबाट औपचारिक रुपमा १ नम्बर प्रदेश स्तरीय लिग सुरु भएको हो । प्रदेश नं. १ सरकारको १ करोड र अखिल नेपाल फुटबल संघको ३३ लाख रुपैयाँको लागतमा लिग सुरु भएको हो । लिग विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । 


प्रतिक्रिया