पानी अभावले विद्युत उत्पादन घट्यो

रेडियो कान्तिपुर संवाददाता

असार २१, २०७६ | इलाम

पर्याप्त वर्षा नभएका कारण इलाममा सञ्चालित जलविद्युत आयोजना प्रभावित भएका छन् । पानी अभावका कारण जिल्लामा सञ्चालित आयोजनाको उत्पादन घट्दै गएको छ । पर्याप्त वर्षा नहुँदा विद्युत गृहले क्षमता अनुसार उत्पादन गर्न नसकेको आयोजनाहरुले जनाएको छ । 

अघिल्ला वर्षहरुमा सोही अवधिमा क्षमता अनुसार नै विद्युत उत्पादन हुने गरेपनि यो वर्ष पानी नपर्दा आधा भन्द कम मात्र विद्युत उत्पादन भएको जनाएका छन् । जिल्लामा करीब ९० मेघावाट क्षमताका विद्युत आयोजना सञ्चालनमा रहेपनि अधिकांश आयोजनाको उत्पादनमा कमी आएको छ ।

सानिमाई माई हाइड्रो पावरद्वारा जिल्लाको दक्षिणी माई नगरपालिकामा सञ्चालित जिल्लाकै ठूलो आयोजनाले पनि विद्युत उत्पादनमा कमी आएको जनाएको छ । २२ मेगावाट क्षमताको सो आयोजनाबाट ७ मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ ।

सानिमाले सञ्चालन गरेको ७ मेगावाट क्षमताको क्यासकेट आयोजनाबाट २ मेगावाटको हाराहारीमा मात्र विद्युत उत्पादन भइरहेको छ । 


प्रतिक्रिया