नारायणगढको सब्जी मण्डीमा आँप बोकेको भारतीय ट्रकमा तोडफोड

रेडियो कान्तिपुर संवाददाता

असार २६, २०७६ | चितवन

चितवनको नारायणगढ क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा बिहीबार बिहान आँप बोकेको भारतीय ट्रकमा तोडफोड भएको छ । बजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालका अनुसार बिहान सवा तीन बजे तिर ट्रकमा तोडफोड भएको हो ।

ट्रकको अगाडीको सिसा फुटेको छ । ट्रकमा चार टन भारतीय आँप थियो । स्कूटरमा आएका युवाले तोडफोड गरेको व्यवसायीहरूले बताएका छन् । उनीहरूले पानीको बोतलमा ल्याएको पेट्रोल छर्केर आगो लगाउन लागेका बेला सलाई नबलेपछि भागेका थिए ।

प्रबन्ध निर्देशक धितालका अनुसार यो समयमा भारतबाट आँप र अनार नेपाल भित्रिने गर्छ । नारायणगढको तरकारी बजारमा दैनिक १०/१२ वटा भारतीय ट्रक तरकारी र फलफूल लिएर भित्रिने गरेका छन् ।

सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण सुरु गरेपछि भने नारायणगढको तरकारी बजारमा भित्रिने ट्रकको संख्यामा कमी आएको छ । 


प्रतिक्रिया