कोसी ब्यारेजका ३३ ढोका खोलेर खोलियो

रेडियो कान्तिपुर संवाददाता

असार २८, २०७६ | विराटनगर

अविरल वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढ्ने क्रम अझै जारी छ । पछिल्लो पटक गरिएको मापन अनुसार कोसीमा २ लाख ४६ हजार ८ सय क्युसेक भन्दा बढी पानीको बहाव देखिएको छ । पानी बढेको भन्दै निकासका लागि कोसी ब्यारेजका ५६ मध्ये ३३ वटा ढोका खोलिएको स्थानीय प्रशासनले जनाएको छ ।

पानीको बहाव धेरै भएपछि ब्यारेजमा सतर्कतासूचक रातो बत्ती बालिएको छ । यसअघि हिजो साँझ गरिएको मापनमा पानीको बहाव २ लाख क्युसेक भन्दा बढी पाइएको थियो । त्यसबेला पानीलाई निकास दिन ब्यारेजका २९ वटा ढोका खुला गरिएको थियो ।

सुनसरीको चतरामा भएको पानीको बहाव शनिबार बिहान सतर्कता संकेत भन्दा माथि पुगेको छ । स्थानीय प्रशासनले कोसी वारिपारिका सुनसरी र सप्तरीका गाउँ बस्तीहरुमा सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया