प्रदेश २ मा पानीजन्य संक्रमणको उच्च जोखिम

रेडियो कान्तिपुर संवाददाता

असार ३१, २०७६ | काठमाडौं

– प्रदेश २ का चार जिल्ला पानीजन्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सककले बताएका छन् । केही दिनदेखि लगातार परेको वर्षासंगै आएको बाढीका कारण बढी प्रभावित रौतहट, सप्तरी, महोत्तरी र सर्लाहीमा महामारीको जोखिम रहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले बताउनुभयो ।

खाने, बस्ने सबै ठाउँमा पानी जमेकाले घरपालुवा जनावर र मान्छे एकै स्थानमा बस्नुपर्ने अवस्थाका कारण पनि महामारीको संक्रमण बढ्न सक्ने उहाँको भनाई छ । सोही अवस्थालाई मध्यनजर गर्दै केन्द्रले चिकित्सक सहितको थप दुई टोली त्यसतर्फ पठाएको जनाएको छ । प्रदेश र स्थानीय तहको समन्वयमा पठाइएको टोलीले अवस्था हेरेर उपचारमा सहयोग गर्ने केन्द्रका प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

यसैबीच बाढीपछि तराईका जिल्लाहरुमा सर्पदंशका घटनाहरु बढ्न थालेका छन् । सर्पदंशबाट बच्न आफु बस्ने ठाउ“ वरिपरि सफा राख्न समेत चिकित्सकले सुझाएका छन् । सर्पले डसेपछि तुरुन्त नजिकको स्वास्थ्य चौकी, अस्पताल जान पनि उनीहरुले आग्रह गरेका छन् । बाढीपहिरोका कारण हुन सक्ने स्वास्थ्य समस्याबाट बच्न स्वास्थ्य मन्त्रालयले प्रदेश र स्थानीय तहसंग समन्वय गरेर काम गर्न टोली नै गठन गरीसकेको छ ।

केन्द्रमा ४ र एक एकजना गरी सातै प्रदेशमा ७ जना रहने गरी मन्त्रालयले ११ जनाको टोली नै गठन गरेको हो । अन्य प्रदेशमा भने स्वास्थ्य सम्बन्धि खासै समस्या नदेखिएको तोकिएका टोली सदस्यहरुले जनाएका छन् । 


प्रतिक्रिया