आन्तरिक विवाद व्यवस्थापन नहुँदा एकतामा शंका

असार ३१, २०७६ | काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकताको बाँकी काम सक्न पटक–पटक समय तोकेपनि आन्तरिक विवाद व्यवस्थापन हुन नसक्दा टुंगिन सकेको छैन । गत वर्षको जेठ ३ गते तात्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा हुँदा ३ महिनाको भाका राखेका नेकपा नेताहरुले बारम्बार समय सार्दै आएका छन् ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा नै असार मसान्तमा बाँकी काम सक्ने बताउनुभएको थियो । पछिल्लो पटक निर्धारण गरिएको समय पनि आज सकिंदैछ तर तल्लो तहमा एकीकरणले पूर्णता पाउन बाँकी छ ।

काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एकताको बाँकी कामलाई पूर्णता दिन भन्दै अध्यक्षद्वयको छलफल अहिले जारी छ । यसअघि आजै दिउँसो ललितपुरमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले एकताको काम अध्यक्षद्वयले टुङ्ग्याएर सचिवालय र स्थायी समितिबाट अनुमोदन गराउने बताउनुभएको थियो । 

एकताको खाका बनाउन गठन गरिएको कार्यदल नै भंग गरेर जिम्मेवारी आफैले लिएका अध्यक्षद्वयबीच बारम्बार छलफल भएपनि सबै प्रक्रियामा सहमति हुन सकेको छैन । उहाँहरुबीच सहमति भएपनि त्यसलाई सचिवालय बैठकले अनुमोदन गर्नुपर्ने भएकाले एकीकरण प्रक्रियाले पूर्णता पाउन नसकेको नेताहरुको भनाई छ ।

पार्टीमा सक्रिय एकमात्र सचिवालयको बैठक समेत लामो समयदेखि बस्न नबसेको भन्दै सचिवालय सदस्यले असन्तुष्टि जनाएका छन् । एकताको काम सचिवालयको पूर्ण बैठकले टुङ्ग्याउनुपर्नेमा अध्यक्षद्वयले मात्र छलफल गर्नु जायज नहुने वरिष्ठ नेता झलनाथ खनालले बताउनुभयो । 

अध्यक्षद्वयले आजै कार्यविभाजन लगायतका एकताको बाँकी काम सकेपनि सचिवालयले पारित गरी अनुमोदन गराउन स्थायी समितिमा लैजानुपर्छ । केन्द्रीय समिति गठन भएपनि निष्कृय प्रायः बनेको छ । स्थायी समिति बैठक समेत बसेको छैन ।

प्रदेश र जिल्ला कमिटीहरु बनेका छन् । पार्टी एकता भएको १४ महिना पुग्न लाग्दासम्म नेताहरुको जिम्मेवारी बाँडफाँट भएको छैन भने गाउँतहको एकीकरण अझै बाँकी छ । जसका कारण पार्टी संगठन चलायमान हुन नसकेको र सरकारका राम्रा कामबारे गाउँतहसम्म जानकारी गराउन नसकेको भन्दै तल्लो तहमा असन्तुष्टि बढ्दो छ । 


प्रतिक्रिया