एक सय ७० ले भूकम्पको अनुदान फिर्ता गरे

असार ३१, २०७६ | गोरखा

भूकम्प पीडितको लाभाग्राही सूचीमा नाम समावेश भएर अनुदान सम्झौता गरेका गोरखाका एक सय ७० जनाले अनुदान रकम फिर्ता गरेका छन् । सरकारी अनुदानको ३ लाख रुपैयाँले घर निर्माण गर्न नसक्ने, अन्यत्र घर भएको जस्ता कारण पेश गर्दै रकम फिर्ता गरेको जिल्ला आयोजना कार्यान्यन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालयले जनाएको छ ।

सम्झौता गरेका २१ जनाले स्वेच्छाले रकम फिर्ता गरेको पुनर्निर्माण कार्यालयले जनाएको छ । दोहोरो भुक्तानी लिएका १ सय ३९ ले पनि अनुदान रकम फिर्ता गरेको इकाइ प्रमुख रामशरण आचार्यले बताउनुभयो ।

हालसम्म ९२ लाख ५० हजार रुपैयाँ फिर्ता भइसकेको उहाँको भनाई छ । अझै ३९ जना दोहोरो भुक्तानी लिएको पाएपछि फिर्ताको लागी पत्राचार गरेको उहाँले बताउनुभयो ।

भूकम्प गएको झण्डै ५० महिना वित्दा जिल्लामा ७४ दशमलव ६४ प्रतिशत निजी आवास पुनर्निर्माण सकिएको छ । ७१ हजार एक सय ६२ लाभाग्राही मध्ये ५३ हजार १ सय २० घरको पुनर्निर्माण सकिएको आचार्यले बताउनुभयो ।  


प्रतिक्रिया