१४ महिना पछि नेकपा शीर्ष तहमा एकता प्रक्रियामा सहमति 

असार ३१, २०७६ | काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी एकता भएको १४ महिनापछि एकताको बाँकी काम टुङ्ग्याएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज साँझ भएको छलफलमा एकीकरण प्रक्रियाका बाँकी रहेका सवै काममा सहमित जुटेको हो ।

अध्यक्षद्धयबीच आज भएको सहमतिलाई आगामी आइतबार बस्ने सचिवालय बैठकमा प्रस्तुत गर्ने तयारी छ । जेष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय सल्लाहकार परिषद, निर्वचन आयोग, लेखा आयोग र अनुशासन आयोग, विशेष कमिटिहरु, सवै विभागमा नेतृत्वसहितको बाँडफाँट टुङ्गिएको नेकपाले जनाएको छ ।

पार्टीमा रहेका ३२ विभाग मध्ये १८ तात्कालिन एमाले र १४ तात्कालिन माओवादी केन्द्रलाई दिने सहमति दुई नेताबीच भएको छ । बिभिन्न विभागको नेतृत्वमाथि हानथाप हुँदा अध्यक्षहरुबीच सहमति हुन कठिन भएको थियो ।  

अध्यक्षद्धयले टुङ्याएको जिम्मेवारीलाई सचिवालयले अन्तिम रुप दिएपछि स्थायी समितिले अुनमोदन गर्नुपर्ने प्रावधान छ । गत वर्षको जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण घोषणा हुँदा ३ महिनाको भाका राखेका नेकपा नेताहरुले बारम्बार समय सार्दै आएका थिए । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक कार्यक्रममा नै असार मसान्तमा बाँकी काम सक्ने बताउनुभएको थियो ।

अध्यक्षद्धयबीच सहमति भएपनि त्यसलाई सचिवालय बैठकले अनुमोदन गर्नुपर्ने भएकाले एकीकरण प्रक्रियाले पूर्णता पायो भनेर भन्न नहुँने नेताहरुको भनाई छ । एकताको काम सचिवालयको पूर्ण बैठकले टुङ्ग्याउनुपर्नेमा अध्यक्षद्वयले मात्र सहमति जुटाएर नहुने बरिष्ठ नेता झलनाथ खनालको तर्कछ । 

 


प्रतिक्रिया