इन्टरनेट १३ प्रतिशतले महँगियो

रेडियो कान्तिपुर संवाददाता

श्रावण १, २०७६ | काठमाडौं

- इन्टरनेट सेवा प्रदायकहरुले आजबाट इन्टरनेटको १३ प्रतिशत मूल्य वृद्धि गरेका छन् । सरकारले इन्टरनेट सेवा प्रदायकहरुसाग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन आइस्पानको निर्णय अनुसार मुलुकभरका सेवा प्रदायकहरुले मूल्य वृद्धि गरेका हुन् । सरकारले वृद्धि गरेको १३ प्रतिशत शुल्क उपभोक्ताबाटे उठाउने निर्णय आइस्पानले गरेको अभ्यक्ष भोजराज भट्टले बताउनुभयो ।

संसदले पारित गरेको आर्थिक ऐनमा इन्टरनेट सेवा प्रदायकले उपभोक्ताबाट दूरसञ्चार सेवा शुल्कबापत १३ प्रतिशत रकम संकलन गरी भ्याटसँगै तिर्नुपर्ने व्यवस्थाा गरिएको छ । यो वर्षको बजेटमा पनि सरकारले यही प्रावधानलाई अघि बढाएको छ । गत वर्षदेखि नै सरकारले इन्टरनेट सेवा प्रदायकहरुबाट १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको थियो ।

 व्यवसायीको तीव्र विरोधपछि सरकारले व्यवसायीसँग मूल्य नबढाउन सम्झौता गरेको थियो ।  सेवा प्रदायक कम्पनीलाई १३ प्रतिशत मूल्य समायोजन गर्ने सम्झौता गरेको सरकारले सम्झौता पालना नगरेको भन्दै व्यवसायीले मूल्य वृद्धि गरेका हुन् ।  

यसैबीच सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले  सेवा प्रदायकले सरकारको निर्णय अटेर गरेको भन्दै सो निर्णय उनीहरुको लागि दुर्भाग्य साबित हुने टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभएको छ, सेवा प्रदायकको माग पूरा हुने अवस्थामा रहेको छ । दुई चार दिन धैर्य नगरी मूल्य बढाए त्यो उनीहरुको लागि दुर्भाग्य हुनेछ । 


प्रतिक्रिया