प्रमाण नदीको पुल सञ्चालन, आयात निर्यात सुरु

श्रावण १, २०७६ | मोरङ

जोगबनीको मिरगञ्जस्थित प्रमाण नदीको पुलमा बाढीले क्षति पुग्ने भन्दै भारतले रोक लगाएको सवारी अवागमन बुधबारबाट सञ्चालनमा आएको छ । विराटनगरसँग जोडिएको एकमात्र भारत बिहारको एनएच ५७ ए फारबिसगंज–जोगबनी सडक खण्डको उक्त पुलमा बाढीले क्षति पुर्‍याउन सक्ने भन्दै अररिया जिल्ला प्रशासनले गत शनिबारदेखि सवारी अवागमनमा रोक लगाएको थियो ।

सवारी अवागमनमा रोक लगाए देखि भारत लगायत तेस्रो मुलुकबाट मालबाहक सवारी नआउँदा विराटनगर भन्सारको राजश्व असूली प्रभावित भएको थियो । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मणिराम पौडेलका अनुसार बाढी आएको बेला बढी भार क्षमता भएको सवारी अवागमन हुँदा पुल धस्न सक्ने भन्दै सवारी अवागमनमा रोक लगाएको भन्दै भारतीय प्रशासनले पत्राचार गरेको थियो ।

तर, बुधबारबाट नदीमा पानीको बहाव घटेपछि ४० टनसम्मको मालबाहक सवारी अवागमन गर्न सकिने भन्दै भारतीय प्रशासनले पुनः पत्रमार्फत जानकारी गराएको पौडेलले बताउनुभयो । मालबाहक गाडी आउन सुरु भइसकेको उहाँले बताउनुभयो । 

दैनिक १५ करोडसम्म राजश्व असूली हुने विराटनगर भन्सार कार्यालयले सवारी अवागमन रोकिदा तीन दिनदेखि न्यून राजश्व असूली भएको सूचना अधिकारी पौडेलले बताउनुभयो । सवारी अवागमन रोकिंदा भारत लगायत तेस्रो मुलुकबाट आएका माल सामान बोकेका ट्रक, लरी, कन्टेनर बथनाहादेखि फारबिसगञ्जसम्म सडकमा अलपत्र परेका थिए । भारतको बथनाहादेखि विरपुर हुँदै भण्टाबारी सडकमा बाढीको पानी बगेकोले मालबाहक गाडी डाइभर्ट गरेर पनि यहाँका उद्योगी व्यवसायीहरुले ल्याउन सकेको थिएन ।

२०७४ साउन अन्तिम साता आएको बाढीले सो पुलको पूर्वतिरको बायाँ पिल्लर धस्दा अढाई महिना सवारी अवागमन ठप्प भएको थियो । त्यति बेला पुलबाट मालबाहक सवारी सञ्चालन नहुँदा पूर्वका उद्योगी व्यबसायीहरुले एक सय किलोमिटर घुमाउरो बाटो भारतको भिमनगर हुँदै भण्टाबारी नाकाबाट मालसामान ल्याउन बाध्य भएका थिए । सो समयदेखि विभिन्न बहानामा भारतीय पक्षले पुलबाट मालसामान आयात निर्यातमा पटक पटक झमेला खडा गर्दै आएको उद्योगी व्यवसायीहरुको गुनासो छ । 

इष्ट इण्डिया कम्पनीले फलामको खम्बा हालेर निर्माण गरेको सो पुल जीर्ण भइसकेको छ । २०७४ साउनको बाढीले धसेको पुलको बीच भागमा दुई वटा पिल्लर थपेर सञ्चालन गर्दै आएको छ । भारतीय राष्ट्रिय राजमार्गका प्राविधिकका अनुसार सो पुलको भारबहन क्षमता भनेको १० टन रहेको तर ८० टनभन्दा बढी सामान बोकेर ठूला सवारी साधन चल्ने गरेकोले पुलमा क्षति पुग्ने गरेको छ । भारबहन भन्दा बढी क्षमताको सवारी सञ्चालन भए पुल भासिएर जोगबनीसँगको सडक सम्पर्क नै विच्छेद हुने भएकोले भारतीय प्रशासनले कडाई गर्दै आएको छ ।

पुलमा क्षति पुगे विराटनगरको भारतसँगको सडक सम्पर्क पूर्ण रुपमा विच्छेद हुने अवस्था भएकोले त्यहाँका उद्योगी व्यवसायीहरुले वैकल्पिक व्यवस्थाको माग गरेको छ । भारत बिहारको एनएच ५७ ए फारबिसगंज–जोगबनी सडक खण्डस्थित उक्त नदीमा निर्माणाधीन अर्को पुल तीन वर्षदेखि जग्गाको मुआब्जा विवादमा रोकिएको छ ।

मोरङ प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले समकक्षी भारतको अररिया डिस्ट्रिक मजिस्ट्रेट  बैजनाथ यादवसँग सोमबारै टेलिफोन वार्त्ता गरेर सवारी अवागमन सुरु गर्न आग्रह गरेको बताउनुभयो । वर्षा रोकिनुका साथै नदीमा बाढी घटेपछि ४० टनसम्मको मालबाहक गाडी सो पुलबाट अवागमन खुल्ला गरिएको पत्र पठाएर भारतीय प्रशासनले जानकारी गराएको उहाँको भनाई छ । 


प्रतिक्रिया