मुलुकको व्यापार घाटा १२ खर्ब ११ अर्ब

श्रावण ३, २०७६ | काठमाडौं

आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा मुलुकको कुल वस्तु व्यापार घाटा बढेर १२ खर्ब ११ अर्ब पुगेको छ । यो चालू आर्थिक वर्षको पूर्ण बजेट भन्दा ३ खर्ब मात्र कम हो । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५/७६ को जेठ महिनासम्मको समीक्षा गर्दै आज सार्वजनिक गरेको प्रतिवेदनमा व्यापार घाटा १७ दशमलव २ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब ९६ करोड रुपैयाँ पुगेको उल्लेख छ ।

यो अवधीमा मुलुकमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा ८७ अर्ब ८३ करोड रुपैयाँ बराबरका सामग्री मात्रै निर्यात भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ । गन्तव्यका आधारमा भारततर्फ ३३ दशमलव ३ प्रतिशत र अन्य मुलुकतर्फ १ दशमलव ५ प्रतिशतले निर्यात वृद्धि भएको छ ।

चीन तर्फको निर्यातमा २७ दशमलव १ प्रतिशतले कमी आएको छ । चालू खातामा पनि घाटा विस्तार भई २ खर्ब ४८ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यस्तो घाटा २ खर्ब १० अर्ब २४ करोड थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ९० अर्ब ८३ करोड रुपैयाँले घाटामा छ ।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले बढेर ७ खर्ब ९९ अर्ब २ करोड पुगेको छ । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने ३७ दशमलव ३ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ । गत जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव २ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ४ दशमलव १ प्रतिशत थियो । सोही समय वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने ५ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा थोक मुद्रास्फीति १ दशमलव २ प्रतिशत मात्र थियो ।


प्रतिक्रिया