भ्रष्टाचारमा नायब सुब्बा तहका कर्मचारीको संलग्नता बढी

रेडियो कान्तिपुर संवाददाता

श्रावण ३, २०७६ | काठमाडौं

निजामती सेवा तर्फ पाँचौ तहका कर्मचारी भ्रष्टचारमा बढी संलग्न रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज पत्रकार सम्मेलन गर्दै नायब सुब्बा र सो सरहका कर्मचारी भ्रष्टचारमा बढी संलग्न रहेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

गत आर्थिक वर्ष भ्रष्टाचारको आरोपमा रंगेहात पक्राउ पर्ने १ सय ६१ कर्मचारी मध्ये ४७ जना नासु मात्र छन् । शाखा अधिकृत वा सो सहर ३२, खरिदार २९, कार्यालय ण्सहयोगी २४ र कनिष्ट कर्मचारी १५ जनालाई पनि कारवाही गरिएको अख्तियारको भनाई छ ।

अख्तियारको तथ्याङ्कअनुसार, १० जना उपसचिव तथा २–२ जना सहसचिव र विशिष्ट श्रेणीका कर्मचारी पनि भ्रष्टचारमा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७५/७६ मा भ्रष्टचारको आरोपमा रंङगेहात पक्राउ पर्ने २ सय जना मध्ये १ सय ६१ जना निजामती कर्मचारी छन् ।

७ जना जनप्रतिनिधि र अन्य ३२ जना बिचौलीया रहेको अख्तियारको भनाई छ । भ्रष्टचारको आरोपमा रंङगेहात पक्राउ पर्नेमा गृह प्रशासन तर्फका कर्मचारी बढी छन् । गत आर्थिक वर्षमा गृह प्रशासन तर्फका मात्रै २७ जना, संघीय मामिला तर्फ २६, भूमि व्यवस्था तर्फ २२, वन तथा वातावरण तर्फ ११, ऊर्जा जलस्रोत तथा सिंचाई तर्फ ९, शिक्षा विज्ञान तथा प्रविधि तर्फ ८ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तर्फका ७ जना कर्मचारी भ्रष्टचारको आरोपमा पक्राउ परेको अख्तियारको जनाएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा २४ हजार ४८ वटा मुद्दा दर्ता भएका मध्ये १५ हजार ६ सय ११ वटा मुद्दा फर्छ्यौट भएको तथा उजुरी वर्गीकरण र प्रारम्भिक छानबिन पछि ९ सय २१ उजुरीको विस्तृत अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ को यो वर्ष उजुरीको संख्या, फर्छ्यौट संख्या र विस्तृत अनुसन्धानको संख्या समेत बढी रहेको अख्तियारले जनाएको छ । 


प्रतिक्रिया